काठमाडौं, जेठ २५ —
संसदको अवरुद्ध अवस्थालाई अन्त्य गर्न सभामुख देवराज घिमिरेले प्रमुख तीन दलका प्रमुख सचेतकहरूसँग छलफल थालेका छन्। नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा आइतबार बिहान सभामुख घिमिरेले नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रका प्रमुख सचेतकहरूसँग वार्ता सुरु गरेका हुन्।
विपक्षी दलहरू भिजिट भिसा प्रकरणको छानबिनका लागि उच्चस्तरीय समिति गठनको माग राख्दै आएका छन्। तर सत्ता पक्षले सो प्रस्तावमा सहमति नजनाउँदा संसद्को बैठक बारम्बार अवरुद्ध हुँदै आएको छ।
विशेषतः प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रसहित अन्य विपक्षी दलहरूले संसदीय प्रक्रिया रोक्ने रणनीति अख्तियार गरेका छन्।
यसै सन्दर्भमा उत्पन्न अवरोधलाई हल गर्न सभामुखको पहलस्वरूप आजको छलफल आयोजना गरिएको हो।