सप्तरी, जेठ २५ —
सप्तकोशी नदीमा हराएका सशस्त्र प्रहरी बलका गोताखोर सुरज साउदको शव चार दिनपछि फेला परेको छ। कोशी ब्यारेजको ५५ नम्बर ढोका नजिक आइतबार बिहान शव भेटिएको सशस्त्र प्रहरी बल नेपालका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिएका छन्।
बिपद् व्यवस्थापन तालिम शिक्षालय, कुरिनटारबाट खटिएको डिएसपी पुरुषोत्तम भण्डारी नेतृत्वको विशेष टोलीले साउदको शव फेला पारेको हो।
साउदसँगै बेपत्ता भएका अर्का गोताखोर हरदेव राजवंशीको शव भने शुक्रबार नै घटनास्थलभन्दा करिब तीन किलोमिटर दक्षिणमा भेटिएको थियो।
गत बिहीबार हनुमाननगर कंकालिनी नगरपालिका–१ स्थित कोशी नदीमा प्रदेशस्तरीय विपद् पूर्वतयारी अभ्यासका क्रममा साउद र राजवंशी बेपत्ता भएका थिए। दुबै जनाले सशस्त्र प्रहरीमा गोताखोर तालिम २०८० र २०८१ सालमा पूरा गरेका थिए र त्यसयता विभिन्न स्थानमा उद्धार कार्यमा खटिएका थिए।
उनीहरू बेपत्ता भएपछि सशस्त्र प्रहरीको विशेष टोली परिचालन गरिएको थियो। दन्तकाली विशेष कार्य तालिम शिक्षालय सप्तरी र नं. ६ गणबाट गरी ५५ जनाको संयुक्त टोली खोजी तथा उद्धारमा खटिएको थियो। थप खोजीका लागि कुरिनटारबाट अनुभवी प्रशिक्षकसहितको टोली बिहीबार राति नै घटनास्थल पठाइएको थियो।