हेटौंडा, जेठ २५ —
हेटौंडा र ललितपुरलाई जोड्ने महत्वपूर्ण सडकखण्ड कान्ति लोकपथ आइतबार बिहानदेखि पुनः सञ्चालनमा आएको छ। बगुवा खोलामा बेलिब्रिज जडान कार्य सम्पन्न भएसँगै यातायात सुचारु गरिएको हो।
गत वर्ष असोज महिनामा आएको बाढीले बगुवास्थित बागमती नदीमा बनेको पुलको मकवानपुरतर्फको पहुँच मार्ग बगाएपछि नियमित आवागमनमा समस्या आएको थियो। त्यसयता सवारी साधन खोलाको बगर हुँदै बनाइएको डाइभर्सनबाट आवतजावत गर्दै आएका थिए। तर वर्षायाम सुरु भएसँगै बाढीले डाइभर्सन बगाउने र सवारी चलनमा अवरोध उत्पन्न हुन थालेको थियो।
डाइभर्सनबाट आवागमन जोखिमपूर्ण बन्दै गएपछि वैकल्पिक संरचना स्वरूप बेलिब्रिज जडानको निर्णय गरिएको थियो। गत जेठ १९ गतेदेखि उक्त सडक खण्डमा यातायात रोकेर चार दिनको अवधिमा बेलिब्रिज जडान कार्य सम्पन्न गरिएको कान्ति लोकपथ सडक आयोजना कार्यालयले जनाएको छ।
पुल सञ्चालनमा आएसँगै अब हेटौंडा–ललितपुरबीचको यात्रा पुनः सहज हुने भएको छ। यातायात सञ्चालनसँगै स्थानीयवासी र यात्रुहरूमा पनि राहत महसुस भएको छ।

