झापा जिल्लाको अर्जुनधारा नगरपालिका–११ मा पोखरीमा डुबेर दुई बालकको ज्यान गएको छ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार मृतकहरू तेहथुमको जिरीखिम्ती घर भई अर्जुनधारा निवासी पूर्णबहादुर राईको घरमा पाहुना आएका १२ वर्षीय महसुस गुरुङ र १० वर्षीय सुजल गुरुङ रहेका छन्।
आज बिहान करिब ८ बजे ती बालकहरू सामुदायिक वनभित्र रहेको पोखरीमा पौडी खेल्न गएका थिए। तर पौडी खेल्ने क्रममा डुबेको थाहा पाएपछि स्थानीयले तत्काल उद्धार गरी उपचारका लागि विर्तामोडस्थित बिएन्डसी हस्पिटल पुर्याएका थिए।
तर अस्पतालमा पुर्याउँदा बिहान साढे ८ बजेतिर चिकित्सकहरूले दुवै बालकको निधन भइसकेको घोषणा गरेका थिए।
हाल दुवै जनाको शव अस्पतालमै राखिएको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी खगेन्द्र खड्काले जानकारी दिए।

