नेपाली कांग्रेसका वरिष्ठ नेता तथा सांसद डा. शेखर कोइरालाले अब सत्ता नेतृत्व कांग्रेसले सम्हाल्नुपर्ने समय आएको बताएका छन्। शनिबार भक्तपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले देश अप्ठ्यारो मोडमा पुगेको र यस्तो अवस्थामा मध्यममार्गी कांग्रेसले सत्ताको चाबी लिनैपर्ने धारणा राखे।
उनले भने, “देश अहिले अत्यन्तै अप्ठ्यारो परिस्थितिबाट गुज्रिरहेको छ। हामी न वामपन्थी हौं, न दक्षिणपन्थी। कांग्रेस एउटा सन्तुलित मध्यममार्गी शक्ति हो। इतिहासमा जहाँ–जहाँ मध्यममार्गी पार्टी कमजोर भयो, त्यहाँ अराजकता हावी भयो। यस्तो अवस्था रोक्न कांग्रेस सक्षम शक्ति हो।”
डा. कोइरालाले सत्ता र सरकार फरक कुरा भएको प्रष्ट पार्दै कांग्रेस सरकारमा भए पनि सत्ताको निर्णय गर्ने चाबी वामपन्थीहरूसँग रहेको दाबी गरे। “हामी सरकारमा त छौं, तर सत्ताको चाबी हाम्रो हातमा छैन। त्यो चाबी खोस्न कांग्रेस तयार हुनुपर्छ,” उनले भने।
उनले नेकपा एमालेलाई कांग्रेसको प्रमुख प्रतिस्पर्धीको रूपमा चित्रण गर्दै भने, “भोलिको प्रतिस्पर्धा एमालेसँग हो। उसले गरेका गलत काम नागरिकमाझ लैजानै पर्छ। कांग्रेस कार्यकर्ताले सहीलाई सही र गलतलाई गलत भन्न सक्नुपर्छ, होइन भने त्यस्ता कार्यकर्ता कांग्रेसकै होइनन्।”
त्यसैगरी, कोइरालाले नेपाली जनशक्तिले विदेशमा कतार, दुबई जस्ता सहरहरू बनाउन सक्छ भने आफ्नै देश नेपाल निर्माण गर्न नसक्ने कुरा स्वीकार्य नभएको भन्दै नेपाललाई नेपालीकै मेहनतले समृद्ध बनाउनुपर्ने धारणा राखे।