×

तालाबन्दी अन्त्य: नेपाल संस्कृत विश्वविद्यालय र अखिल क्रान्तिकारीबीच पाँच बुँदे सहमति

खालीपाना न्युजडेस्क | ८ महिना अगाडि

नेपाल संस्कृत विश्वविद्यालयका विभिन्न निकायहरूमा नेकपा (माओवादी केन्द्र) निकट अखिल (क्रान्तिकारी) विद्यार्थी संगठनले लगाएको ताला पाँच बुँदे सहमतिसहित खोलिएको छ।

२०७८ पुस १२ गतेदेखि केन्द्रीय कार्यालय, अनुसन्धान केन्द्र, वाल्मीकि विद्यापीठ लगायत स्थानहरूमा तालाबन्दी गरिएको थियो। लामो संवाद र छलफलपछि विश्वविद्यालय प्रशासन र अखिल क्रान्तिकारीबीच सहमति भएपछि शुक्रबारदेखि ताला खोलिएको हो।

सहमतिको मुख्य बुँदाहरू:

  1. प्रयोगात्मक सामग्रीको खरिद:
    केन्द्रीय आयुर्वेद विद्यापीठका विद्यार्थीहरूको पठनपाठन सहज बनाउन आवश्यक पर्ने प्रयोगात्मक सामग्री असार मसान्तभित्र बजेटबाट खरिद गरिनेछ।

  2. हस्पिटल सेवा सुदृढीकरण:
    ओपिडी सञ्चालनका लागि आवश्यक जनशक्ति र सामग्रीको प्रस्ताव विश्वविद्यालयको आगामी सभामा पेस गरिनेछ।

  3. इन्टर्नसिप भत्ता:
    मिथिला आयुर्वेद कलेजको सम्बन्धन खारेजपछि दाङस्थित विद्यापीठमा अध्ययनरत नवौं ब्याचका छात्रछात्राहरूको इन्टर्नसिप भत्ताबारे शिक्षा मन्त्रालय र परिषद्‌सँग पत्राचार गरिने र प्राप्त निर्देशन अनुसार एकरूपता कायम गरिनेछ।

  4. परीक्षा प्रणाली सुधार:
    परीक्षा प्रणालीलाई निष्पक्ष र भयरहित बनाउने प्रतिबद्धता जनाइएको छ।

  5. पदाधिकारी छानबिन र कारबाही:
    डिन, सहायक डिन, प्राचार्य लगायत पदाधिकारीहरू परीक्षा प्रणालीमा प्रत्यक्ष संलग्न नहुने, उजुरीको आधारमा छानबिन गरी दोषी पाइए पुनः संरचना गर्ने र आर्थिक अनियमितताबारे ठोस प्रमाण भएमा उच्च निकायमा सिफारिस गर्ने सहमति भएको छ।

यसैगरी, विगतमा तत्कालीन कार्यबाहक उपकुलपति डा. भीमप्रसाद खतिवडाले गठन गरेको वार्ता समितिसँग भएका सहमति कार्यान्वयनमा लैजाने विषयमा पनि सहमति जुटेको छ।

यद्यपि जेठ १९ गते सहमति भए पनि २० गते ताला नखुली ढिला भएको थियो। अन्ततः शुक्रबारदेखि औपचारिक रूपमा तालाबन्दी हटाइएको अध्यक्ष गोविन्द मल्लले जानकारी दिए।

सहमतिपत्रमा हस्ताक्षर गर्नेहरूमा:
विश्वविद्यालय वार्ता समितिका संयोजक डा. अर्जुनप्रसाद भट्टराई, सदस्य डा. विनोदकुमार आचार्य, उपप्रशासक अनिल पोख्रेल, अखिल क्रान्तिकारीका प्रदेश र केन्द्रीय पदाधिकारीहरू सहित विभिन्न प्रतिनिधिहरू सामेल छन्।

बेलझुण्डीस्थित विश्वविद्यालयमा विगतदेखि नै यदाकदा माग पूरा गराउन तालाबन्दी गरिँदै आएको भए पनि पछिल्लो सहमति सकारात्मक संकेतका रूपमा लिइएको छ।

Facebook Comments Box
0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x