बहुविवाहको आरोपमा पक्राउ परेका एबीसी ओभरसिजका सञ्चालक शमशेर गहतराजलाई ललितपुर जिल्ला अदालतले पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न आदेश दिएको छ।
जेठ २१ गते साँझ पक्राउ परेका गहतराजमाथि भावना गजुरेलसँग दोस्रो विवाह गरेको आरोप लागेको हो। ललितपुर जिल्ला प्रहरी परिसरका एक अधिकृतका अनुसार उनीहरूलाई प्रारम्भिक अनुसन्धानका लागि पाँच दिन थुनामा राख्न अदालतले अनुमति दिएको हो।
गहतराजविरुद्ध उजुरी उनकी पहिलो पत्नीले ललितपुर जिल्ला प्रहरी कार्यालयमा दर्ता गराएकी थिइन्। सोही उजुरीका आधारमा अदालतबाट पक्राउ पूर्जी जारी गरिएको थियो।
शमशेर गहतराजले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नजिकको शम्भु मार्गमा एबीसी ओभरसिज नामक मेनपावर कम्पनी सञ्चालन गर्दै आएका छन्। अब प्रहरीको अनुसन्धानपछि कानुनी प्रक्रिया अघि बढ्नेछ।
