विशेष अदालतमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पतञ्जली योगपीठसँग सम्बन्धित जग्गा अनियमिततासम्बन्धी प्रकरणमा अध्यक्ष नेपालसहित ९३ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
अख्तियारका अनुसार पतञ्जली आयुर्वेद कम्पनीको नाममा काभ्रेपलाञ्चोकमा रहेको हदबन्दी छुटको जग्गा कानुनविपरीत तरिकाले खरिद–बिक्री गरिएको थियो। यही विषयमा अनुसन्धान अघि बढाउँदै आयोगले बिहीबार विशेष अदालतमा मुद्दा दर्ता गरेको हो।
मुद्दासँग सम्बन्धित विवरण दिँदै विशेष अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीले अध्यक्ष नेपालमाथि १८ करोड ५८ लाख ५० हजार रुपैयाँ बिगो माग गरिएको जानकारी दिएका छन्।
२०६६ सालमा माधवकुमार नेपाल प्रधानमन्त्री रहेका बेला मन्त्रिपरिषद्ले हदबन्दी छुटको जग्गा खरिद गर्न स्वीकृति दिएको थियो। तर सो निर्णयको आधारमा कानुनविपरीत थप जग्गा बिक्री गरिएको भन्ने उजुरीपछि अख्तियारले छानबिन थालेको हो।
यस मुद्दामा पूर्वकानुन मन्त्री प्रेमबहादुर सिंह, त्यसबेलाका भूमि सुधार सचिव छविराज पन्तसहित ९३ जनालाई प्रतिवादी बनाइएको छ।
यसैबीच, सांसद समेत रहेका माधवकुमार नेपालको पद भ्रष्टाचार मुद्दा दायर भएसँगै निलम्बनमा परेको छ।