काठमाडौं । नबिल बैंक लिमिटेडले नयाँ प्रमुख कार्यकारी अधिकृत (सीईओ)को रुपमा मनोज ज्ञवालीलाई नियुक्त गरेको छ। बैंकको सञ्चालक समितिको बिहीबार बसेको बैठकले ज्ञवालीलाई आगामी चार वर्षका लागि सीईओ बनाउने निर्णय गरेको हो।
बैंकका कम्पनी सचिव भेष्म नेउपानेका अनुसार, यो नियुक्ति आजदेखि लागू हुनेछ। यसअघि ज्ञवाली कार्यवाहक सीईओको भूमिकामा कार्यरत थिए।
ज्ञवाली सन् २०२० (वि.सं. २०७७) मा नबिल बैंकमा प्रवेश गरेका थिए। उनले नायब महाप्रबन्धकबाट सुरु गर्दै आफ्नो दक्षता र अनुभवको आधारमा बैंकको उच्च नेतृत्वमा पुग्न सफल भएका हुन्।