२१ जेठ, काठमाडौं । स्कटल्याण्डमा भइरहेको आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत नेपालले आज दोस्रो खेलमा नेदरल्याण्ड्सको सामना गर्दैछ। खेल नेपाली समयअनुसार अपराह्न ३:४५ बजे डुन्डीको मैदानमा सुरु हुने तालिका रहेको छ।
यसअघि नेपालले लिगको पहिलो खेलमा स्कटल्याण्डविरुद्ध १ विकेटको रोमाञ्चक जित निकाल्दै प्रतियोगितामा उत्कृष्ट सुरुआत गरिसकेको छ। अब नेपाल त्यही जितको लयलाई निरन्तरता दिने उद्देश्यसाथ मैदान उत्रने तयारीमा छ।
नेपाल र नेदरल्याण्ड्स यसअघि पनि लिग २ को क्रममा आमनेसामने भइसकेका छन्। सन् २०२३ को फेब्रुअरीमा कीर्तिपुरमा भएको दुई खेलको सिरिजमा दुबै टोलीले एक–एक खेल जितेका थिए।
ओडिआई इतिहासमा यी दुई राष्ट्रबीच हालसम्म ५ पटक भिडन्त भएको छ। तीमध्ये नेपालले २ खेलमा विजय हात पारेको छ भने नेदरल्याण्ड्सले ३ खेल जितेको छ। सन् २०२३ मा जिम्बावेमा आयोजित विश्वकप छनोटमा भएको भेटमा नेदरल्याण्ड्स विजयी भएको थियो।
नेपालले आफ्नो पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय खेल पनि नेदरल्याण्ड्सविरुद्ध नै सन् २०१८ मा खेलेको थियो। त्यो सिरिजमा पहिलो खेल हारेको नेपालले दोस्रो खेल जित्दै ओडिआई इतिहासको पहिलो जित दर्ता गरेको थियो।
लिग २ को वर्तमान अंकतालिकामा नेदरल्याण्ड्स २० खेलबाट २६ अंक जोडेर दोस्रो स्थानमा छ। अर्कोतर्फ, नेपालले १३ खेलमा ८ अंक बटुलेको छ र सातौं स्थानमा रहेको छ।