१९ जेठ, काठमाडौं । युक्रेनले आइतबार रूसभित्र अहिलेसम्मकै सबैभन्दा ठूलो दूरीको ड्रोन हमला गरेको दाबी गरेको छ। बीबीसीलाई युक्रेनी अधिकारीहरूले जानकारी दिएअनुसार यो “स्पाइडर्स वेब” नामक अपरेसन अन्तर्गत सम्पन्न भएको हो, जसमा ११७ वटा ड्रोन प्रयोग गरिएका थिए।
एसबीयू (युक्रेनी सुरक्षा निकाय) का अनुसार, उक्त ड्रोन हमला तयारी गर्न झण्डै डेढ वर्ष लागेको थियो। आक्रमणमा रूसी सेनाका ४ वटा सैन्य एयरबेसमा रहेका करिब ४० युद्धविमानलाई लक्षित गरिएको थियो। तीमध्ये केही Tu-95 र Tu-22M3 जस्ता क्रुज मिसाइल बोक्न सक्ने रणनीतिक बमवर्षक थिए।
राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले यो आक्रमणको निर्देशन एसबीयू प्रमुख वासिल मलिउकको नेतृत्वमा गरिएको बताएका छन्। उनका अनुसार, प्रत्येक ड्रोनको आ-आफ्नो पाइलट रहेको र सबै अपरेसन अत्यन्त गोप्य तरिकाले सञ्चालन गरिएको थियो। हमलापछि सबै सहभागीहरूलाई सुरक्षित रूपमा बाहिर निकालिएको बताइएको छ।
एसबीयूले आक्रमणका कारण रूसी हवाई रणनीतिक क्षमतामा झण्डै ७ अर्ब डलर बराबरको क्षति पुगेको अनुमान गरेको छ। काठको मोबाइल क्याबिनभित्र लुकाएर ल्याइएका ड्रोनहरू ट्रकको छानाबाट रिमोटमार्फत प्रक्षेपण गरिएको थियो।
रूसले पनि युक्रेनी आक्रमण स्वीकारेको छ र पाँच भिन्न-भिन्न क्षेत्रका सैन्य आधारहरूमा हमला भएको पुष्टि गरेको छ। तर उसले त्यसलाई ‘आतङ्ककारी कार्य’ भन्दै विरोध जनाएको छ।
यता, युक्रेनमा पनि सोमबार बिहानै विशाल रूसी ड्रोन र मिसाइल हमला भएको छ। खार्किभमा भएको आक्रमणमा सात वर्षीया बालिका सहित ६ जना घाइते भएका छन्। युक्रेनी सेनाले ४७२ ड्रोन र ७ वटा मिसाइलहरू प्रहार गरिएको जानकारी दिएको छ। तिनमध्ये ३८५ लक्ष्यहरू नष्ट गरिएको दाबी गरिएको छ।
यसबीच, युक्रेनी थलसेनाका एक प्रशिक्षण केन्द्रमा भएको रूसी क्षेप्यास्त्र आक्रमणमा १२ सैनिकको मृत्यु र ६० भन्दा बढी घाइते भएको खबर छ। घटनापछि थलसेनाका प्रमुख मेजर जनरल मिखाइलो ड्रापात्यीले राजीनामा दिएका छन्।
यसैबीच, शान्तिका लागि टर्कीको इस्तानबुलमा रूस–युक्रेन वार्ताको दोस्रो चरण सुरु हुने तयारी भइरहेको छ, तर दुबै पक्षबीच मतभेद चर्किएको देखिएको छ।