भिजिट भिसा सेटिङ प्रकरणमा गृहमन्त्री रमेश लेखकले नेपाली कांग्रेसको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकमा आफू निर्दोष रहेको प्रष्ट पारेका छन्।
सोमबार बिहान पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बसेको बैठकमा गृहमन्त्री लेखकले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत प्रमुख अध्यागमन अधिकृत तीर्थराज भट्टराईलाई अनुशासनविपरीतको गतिविधिमा संलग्न देखिएपछि हटाइएको बताएका हुन्।
नेताहरूले उक्त प्रकरणबारे जिज्ञासा राखेपछि गृहमन्त्री लेखकले भनेका थिए, “कर्मचारीले अनुचित काम गरेको जानकारी पाएपछि हटाएको हुँ, म स्वयं त्यसमा कुनै रूपमा संलग्न छैन।”
गृह मन्त्रालय स्रोतका अनुसार, सहसचिव भट्टराई एक महिनादेखि आफूलाई सरुवा गरिदिन मन्त्रालयमा सक्रिय थिए। तर गृहमन्त्री लेखकले उनकै ठाउँमा राख्न अन्य विश्वसनीय व्यक्ति नपाइएको भन्दै रोक्दै आएका थिए।
प्रकरणबारे नेताहरूबीच बढ्दो चासोका बीच गृहमन्त्री लेखकको यो स्पष्टीकरण आएको हो।
