सोलुखुम्बुका दावा शेर्पाले ४६ वर्षभन्दा बढी समय सगरमाथा क्षेत्रमा यात्रा र कार्य गर्दै बिताए । उनी अहिले ६१ वर्षका भइसकेका छन् । सानै उमेरदेखि उनले हिमालमा भारी बोकेर काम सुरु गरेका थिए । आठ पटक सगरमाथा चढेका उनी अझै पनि हिमालप्रति त्यत्तिकै समर्पित छन् ।
पर्यटन क्षेत्रमा काम गर्न सुरुवात गरेका दावालाई सगरमाथा क्षेत्रका बस्ती र बाटाहरू अत्यन्तै प्रिय लाग्छन् । अतीत सम्झँदै उनी भन्छन्, ‘‘नाम्चे बजार पहिले अहिलेको जस्तो थिएन, घरहरू परम्परागत थिए । पर्यटकको मौसममा सयौँ टेन्टहरू देखिन्थे । धेरैजसो शेर्पा युवाहरूले भारी बोक्ने काम गर्थे भने केही अंग्रेजी जान्नेहरू ट्रेकिङ गाइड बन्थे ।’’
त्यसबेला पैदल यात्रा गर्दा धेरै ठाउँमा बस्न होटल हुन्थेनन् । कतिपय रात ओडारमा बिताउनु परेको अनुभव पनि दावासँग छ । उनी सम्झन्छन्, ‘‘जहाँ दाउरा भेट्थ्यौं, बोक्थ्यौं । जहाँ ओडार भेट्थ्यौं, त्यहीँ रात बिताउँथ्यौं । खाना पनि आफैँ पकाएर खान्थ्यौं । त्यो समय अधिकांश शेर्पा युवाहरू यही क्षेत्रमा सक्रिय थिए । अहिले भने उनीहरूको उपस्थिति घट्दै गएको देखिन्छ ।’’
नेपाल पर्वतारोहण महासङ्घका अनुसार पहिलो पुस्ताका शेर्पाहरूले यो क्षेत्रमा नेतृत्वदायी भूमिका खेलेका थिए । तर अब आउने पुस्ताले यस पेसामा निरन्तरता नदिए भविष्यमा पर्वतारोहण गाइडको अभाव हुन सक्ने देखिएको छ ।
महासङ्घका प्रवक्ता दीपेन्द्र गुरुङका अनुसार सोलुखुम्बुका अनुभवी गाइडहरू अझै क्रियाशील छन् । तर युवापुस्ताको सहभागिता खासै देखिँदैन । उनले बताएअनुसार अहिले सङ्खुवासभा, खोटाङ, ओखलढुङ्गा जस्ता जिल्लाबाट नयाँ गाइडहरू देखा परिरहेका छन् ।
नेपालमा हाल ४६१ वटा हिमाल आरोहणका लागि खुला गरिएको छ । तीमध्ये अझै पनि १५० भन्दा बढी हिमालहरू आरोहण हुन बाँकी छन् । केही हिमालहरूको अध्ययन प्रक्रिया पनि जारी नै छ । गुरुङ भन्छन्, ‘‘शेर्पा युवाहरूको संलग्नता घटिरहेको भए पनि अन्य समुदायका युवाहरूको सहभागिता बढ्दो छ । पर्यटकहरूको सङ्ख्या बढ्दै गएमा गाइडको माग अझै बढ्नेछ ।’’
शेर्पा संस्कृति र हिमालसँगको सम्बन्धमा गहिरो अध्ययन गर्दै आएका लाक्पा सोनाम शेर्पाका अनुसार अघिल्लो पुस्ताको तुलनामा अहिलेको पुस्तामा यो पेसाप्रतिको आकर्षण कम हुँदै गएको छ । उनी भन्छन्, ‘‘शेर्पाहरू यो पेसाबाट बाहिरिने क्रममा भए पनि दीर्घकालीन असर भने नपर्ने देखिन्छ । बरु जलवायु परिवर्तनका कारण सगरमाथा आफैं संकटमा पर्न सक्छ ।’’
८ पटक सगरमाथा चढेका निमा शेर्पाका अनुसार अहिले अनुभवी गाइडहरू उमेरमा पाका भइसकेका छन् र नयाँ पुस्ताको उपस्थिति न्यून छ । उनी भन्छन्, ‘‘हाम्रो पुस्ताले गाइडको जिम्मेवारी सम्हालिरहेका छौं तर पछिल्ला पुस्ताका शिक्षित युवाहरूले यो जोखिमपूर्ण पेसा रोज्दैनन् कि भन्ने चिन्ता छ ।’’
५८ वर्षीय तार्के शेर्पा पनि विगतदेखि सगरमाथा क्षेत्रमा कार्यरत छन् । उनले तीन वर्षअघि सगरमाथा आरोहण गर्न छोडे पनि अन्य हिमाल चढाउने जिम्मेवारी सम्हालिरहेका छन् । उनका अनुसार शेर्पा युवाहरू वैकल्पिक पेसातिर गएका छन् । कसैले व्यापार गरेका छन् भने कोही उच्च शिक्षा अध्ययनका लागि विदेशिएका छन् ।
नाम्चे बजारका ओङछु शेर्पाले बताएअनुसार पहिले प्रत्येक शेर्पा परिवारका छोराहरूले सगरमाथा चढ्नुपर्ने प्रचलन थियो । तर अहिले गाउँमा युवाहरू भेटिनै गाह्रो भएको छ । अधिकांश विदेश गएका छन् र गाउँका युवाहरू यो पेसामा खासै देखिँदैनन् ।
सन् १९५३ मा तेञ्जिङ नोर्गे शेर्पा र एडमण्ड हिलारीले पहिलो पटक सगरमाथा चढेपछि यस क्षेत्रमा पर्यटकको ओहोरदोहोर बढेको हो । त्यसयता शेर्पा समुदायले भारी बोक्ने, ट्रेकिङ गाइड बन्ने जस्ता काम गर्दै आएको हो ।
हाल सगरमाथा आधार शिविरसम्म पुग्न काठमाडौँ र रामेछापबाट लुक्लासम्म विमान र सुर्केसम्म सडक यातायात उपलब्ध छ । लुक्लादेखि पैदल यात्रा सुरु हुन्छ । बाटामा आधुनिक होटलहरू रहेका छन् भने सामान ओसार्न खच्चड र मानिसहरूको प्रयोग हुने गरेको छ ।
नेपालको हिमाली पेसासँग गहिरो सम्बन्ध राख्ने शेर्पा समुदायको सहभागिता घट्दो क्रममा छ भने अन्य समुदायको सहभागिता बढ्दो छ । यो परिवर्तन स्वाभाविक भए पनि शेर्पा समुदायको परम्परा र पेसागत पहिचानका लागि केही चुनौतीपूर्ण बन्न सक्ने देखिन्छ ।