उत्तर कोरियाको चोङजिनस्थित पूर्वी बन्दरगाहमा नयाँ युद्धपोत सार्वजनिक गर्ने क्रममा एक ठूलो दुर्घटना भएको छ। बुधबार सम्पन्न भएको सो समारोहमा देशका सर्वोच्च नेता किम जोङ उन स्वयं उपस्थित थिए। तर, कार्यक्रमकै दौरानमा ५ हजार टन क्षमताको सो युद्धपोतमा प्राविधिक समस्या देखा परेपछि दुर्घटना भएको उत्तर कोरियाको सरकारी समाचार संस्था केसीएनएले जनाएको छ।
समारोह सुरु भएलगत्तै युद्धपोतको तल्लो भागमा गडबडी देखिन थाल्यो। केही समयमै सन्तुलन गुमाएर युद्धपोत डुब्न पुगेको थियो। घटनाले समारोहमा उपस्थित व्यक्तिहरूमा त्रास फैलिएको थियो। यद्यपि, घटनामा मानवीय क्षति नभएको पुष्टि गरिएको छ।
किम जोङ उनले उक्त घटनालाई गम्भीर आपराधिक लापरबाहीको परिणाम भन्दै कडा आलोचना गरेका छन्। उनले अनुभवहीनता र कमजोरीपूर्ण कमान्ड प्रणालीले यस्तो अवस्था सिर्जना गरेको बताउँदै यस्ता गल्ती अब सहन नसकिने चेतावनी पनि दिएका छन्।
युद्धपोत डुबेको यो घटनालाई लिएर अर्को महिना पार्टीको केन्द्रीय समितिको पूर्ण बैठकमा विस्तृत छलफल गरिने पनि किमले बताएका छन्। उल्लेखनीय कुरा के छ भने, यही प्रक्षेपण समारोहमार्फत गत महिना मात्र चो ह्योन नामक नयाँ युद्धपोत सार्वजनिक गरिएको थियो, जसको क्षमता ५ हजार टन रहेको बताइएको थियो।
उत्तर कोरियाजस्तो सैन्य रूपले संवेदनशील देशमा यस्तो स्तरको दुर्घटना हुनुले देशको नेतृत्वमा पनि गम्भीर चिन्ता बढाएको छ।