अमेरिकाको राजधानी वाशिङ्टनमा यहुदी संग्रहालयको छेउमा भएको गोलीकाण्डमा इसराइली दूतावासमा कार्यरत एक युवक र एक युवतीको मृत्यु भएको छ। स्थानीय समयअनुसार बुधबार राति ९:०५ बजे सो घटना भएको हो।
प्राप्त विवरणअनुसार, मारिएका दुवै जना प्रेम सम्बन्धमा थिए र चाँडै इन्गेजमेन्ट गर्ने तयारीमा थिए। युवकले प्रेमिकालाई दिनका लागि औंठीसमेत किनिसकेका थिए भन्ने जानकारी स्रोतले दिएको छ।
घटनास्थल वाशिङ्टनस्थित यहुदी संग्रहालय बाहिर पर्छ, जुन ठाउँ ह्वाइट हाउसबाट करिब २ किलोमिटर टाढा छ। घटनाको समयमा संग्रहालयमा अन्य दूतावास कर्मचारीहरू पनि उपस्थित थिए। नजिकै एफबिआईको कार्यालय पनि रहेको छ।
वाशिङ्टन प्रहरी प्रमुख पमेला स्मिथका अनुसार गोली चलाउने युवक त्यही क्षेत्र वरिपरि डुलिरहेका थिए र पछि अचानक चार जनाको समूहमा गोली चलाएका थिए। तीमध्ये दुईको घटनास्थलमै ज्यान गएको हो।
प्रहरीले ती संदिग्ध युवकलाई नियन्त्रणमा लिइसकेको छ। प्रारम्भिक अनुसन्धानमा उनी अन्दाजी ३० वर्ष उमेरका र शिकागो निवासी भएको पाइएको छ। पक्राउपश्चात उनले “प्यालेस्टिनी समर्थन” सम्बन्धी नारा लगाएको पनि रिपोर्ट गरिएको छ।
यस घटनाप्रति इसराइलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहु र अमेरिका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प दुबैले दुःख व्यक्त गरेका छन्। ट्रम्पले कट्टरपन्थी हिंसाका लागि अमेरिकामा स्थान नभएको भन्दै कडा कारबाहीको प्रतिबद्धता जनाएका छन्।