५३ वर्षअघि अन्तरिक्षतर्फ प्रक्षेपण गरिएको एक अवशेष अन्तरिक्ष यान अहिले पृथ्वीका लागि सम्भावित जोखिम बनेको छ। तत्कालीन सोभियत संघद्वारा सन् १९७२ मा शुक्र ग्रहको अध्ययनका लागि पठाइएको ‘कोसमस ४८२’ नामक यान अब पृथ्वीको कक्षमा अनियन्त्रित रूपमा घुमिरहेको छ र चाँडै नै पृथ्वीमा खस्ने अनुमान गरिएको छ।
यो यान विशेष रूपमा शुक्र ग्रहको तातो र विषालु वायुमण्डल झेल्न सक्ने बनावटमा तयार गरिएको थियो। करिब १ मिटर चौडा र ५०० किलोग्राम तौल भएको यो गोलाकार अवतरण क्याप्सुलले कुनै बेला अन्तरिक्ष अनुसन्धानमा क्रान्तिकारी योगदान दिन सक्ने अपेक्षा गरिएको थियो। तर, प्रक्षेपणकै क्रममा समस्या आएपछि यान पृथ्वीको कक्षमै अड्किएको थियो।
अब यो यान नियन्त्रण बाहिर गएर पृथ्वीको वायुमण्डलमा प्रवेश गर्ने स्थितिमा पुगेको छ। डच खगोलशास्त्री मार्को ल्याङब्रोकका अनुसार मे १० तिर यो पृथ्वीमा खस्ने सम्भावना छ। करिब २४२ किलोमिटर प्रति घण्टाको गतिमा खस्ने अनुमान गरिएको यो यानले यदि वायुमण्डलमा पूर्ण रूपमा नजलेर जमिनमा आइपुग्यो भने, त्यो उल्का पिण्ड खस्नुसरह असर पुर्याउन सक्छ।
यद्यपि वैज्ञानिकहरूले मानिसहरूले आत्तिनु नपर्ने बताएका छन्। खतराको स्तर निकै न्यून रहेको बताउँदै वैज्ञानिक ल्याङब्रोकले यसबाट हानि हुने सम्भावना चट्याङ लागेर मर्ने सम्भावनाजस्तै न्यून रहेको जनाएका छन्।
यद्यपि, यो यान पृथ्वीको कुन भागमा खस्ने भन्ने ठ्याक्कै भन्न सकिने अवस्था छैन। यो ५१.७ डिग्री उत्तरदेखि दक्षिण अक्षांशको बीचका क्षेत्रमा खस्न सक्ने अनुमान गरिएको छ, जसको अर्थ लन्डनदेखि क्यानडाको एडमन्डटनसम्मको क्षेत्रमा यसको सम्भाव्य खसाइ हुन सक्छ।
यसमा रहेको अत्यन्तै बलियो तापढाल र अवतरण उपकरण अझै सक्रिय छन् कि छैनन् भन्नेमा वैज्ञानिकहरू निश्चित छैनन्। यदि ती उपकरण अझै काम गरिरहेका भएमा यान जमिनसम्म आइपुग्ने सम्भावना पनि रहन्छ।
यसअघि पनि २०१८ मा चीनको तियांगोङ–१ अन्तरिक्ष स्टेशन र २०२२ मा बुस्टर रकेट अनियन्त्रित भएर पृथ्वीमा खसेका थिए, तर ती समुद्रमा खसेर खासै क्षति भएको थिएन।
यो घटनाले फेरि एकपटक अन्तरिक्ष फोहोर र अनियन्त्रित यानहरूको सम्भावित खतरालाई उजागर गरेको छ। वैज्ञानिकहरू अहिले पनि यानको हरेक गतिविधिलाई निगरानीमा राखिरहेका छन्।
यस्तो घटनाले भविष्यमा अन्तरिक्ष फोहोर व्यवस्थापनको आवश्यकतालाई थप गम्भीरताका साथ लिने समय आएको संकेत गर्छ।