काठमाडौँ । प्रतिनिधि सभा सदस्य सुमना श्रेष्ठले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सह–महामन्त्री पदबाट राजीनामा दिएकी छन् । रास्वपाको पछिल्लो केन्द्रीय समिति बैठकमा अध्यक्ष रवि लामिछानेले पार्टीको व्यापक पुनर्संरचना आवश्यक रहेको बताएका थिए, त्यसको केही समयमै श्रेष्ठले आफ्नो पद त्याग गरेकी हुन्।
पार्टीको पुनर्संरचना प्रक्रियालाई सहज बनाउन आफूले दोहोरो भूमिका नखेलेर संसदीय जिम्मेवारीमै केन्द्रीत रहने निर्णय गरेको कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिएका छन् । श्रेष्ठले भने यसबारे औपचारिक धारणा सार्वजनिक गरिसकेकी छैनन् । तर, स्रोतका अनुसार उनी बिहीबारको केन्द्रीय बैठकमा आफ्ना धारणा राख्ने तयारीमा छिन्।
प्रवक्ता झाले रातोपाटीसँग भने, “अघिल्लो बैठकमा पार्टी सभापति लामिछानेले पार्टीभित्र संरचनात्मक परिवर्तन आवश्यक रहेको बताएपछि सुमना श्रेष्ठले एक व्यक्तिले एउटै पदमा सीमित रहनुपर्छ भन्ने प्रस्ताव राखेकी थिइन्। संसदीय भूमिकामा अझ प्रभावकारी बन्न सह–महामन्त्री पदबाट राजीनामा दिनु सकारात्मक हो।”
श्रेष्ठले प्रधानमन्त्रीको दोहोरो भूमिकाको उदाहरण दिँदै सरकार र विश्वविद्यालय दुबै प्रभावकारी रूपमा सञ्चालन गर्न नसकिएको संकेतसमेत गरेकी छन्।
रास्वपाका स्रोतहरूका अनुसार सभापति लामिछानेको नेतृत्वमा सुरु भएको पार्टी पुनर्संरचनाको प्रक्रियामा अन्य पदाधिकारी र विभागीय प्रमुखहरू पनि राजीनामा दिन तयार भइरहेका छन्।
“थप केही पदाधिकारी र विभाग प्रमुखहरूले पनि राजीनामा दिने तयारी गरिरहेका छन्,” स्रोतले जनाएको छ, “तर को–को हुन् भन्ने कुरा केन्द्रीय समितिको बैठकपछि मात्र स्पष्ट हुनेछ।”