×

भट्टराईको आत्मस्वीकृति : ‘म कांग्रेसबाट सुरु, कम्युनिष्ट हुँदै नयाँ विचारतर्फ उन्मुख’

खालीपाना न्युजडेस्क | १० महिना अगाडि

नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराईले आफ्नो राजनीतिक यात्राबारे खुलासा गर्दै आफूले पहिलो चरणमा नेपाली कांग्रेससँग निकटता राखेको, त्यसपछि कम्युनिष्ट विचारमा लागेर अन्ततः नयाँ सोच बोकेको व्यक्तित्वको रूपमा आफूलाई चिनाउने बताएका छन्।

बुधबार काठमाडौंमा आयोजित कांग्रेस नेता चन्द्रप्रसाद न्यौपानेको स्मृतिमा प्रकाशित ग्रन्थको लोकार्पण कार्यक्रममा बोल्दै उनले सुरुमा कांग्रेसप्रति झुकाव रहेको स्मरण गरे।

‘धेरैजसो कांग्रेस मित्रहरूले प्रश्न गर्नुहुन्छ— म कांग्रेस हो कि कम्युनिष्ट? म आफूलाई अलिकति कांग्रेस, अलिकति कम्युनिष्ट र ती दुवैभन्दा पृथक नवीन विचार बोकेको व्यक्ति ठान्छु,’ उनले प्रस्ट पारे।

कार्यक्रममा उनले पूर्वप्रधानमन्त्री तथा कांग्रेसका पुराना नेता कृष्णप्रसाद भट्टराईलाई सम्झँदै भने, ‘उहाँसँग आत्मीय सम्बन्ध थियो। उहाँको निधन हुनु एक साताअघि अस्पतालमा भेट हुँदा उहाँ ठट्टा गर्दै भन्नुहुन्थ्यो— बाबु, कहिले तिमी माओवादी भयौ भनेर।’

बाबुरामले कृष्णप्रसाद भट्टराईले आफूलाई सधैं कांग्रेसकै हिस्सा ठानेको उल्लेख गरे। तर आफ्ना अनुसार, राजनीतिक यात्रा भने गोरखा छोप्राकका नेता कृष्णप्रसाद न्यौपानेबाट सुरु भएको बताए।

‘कृष्णप्रसाद न्यौपाने (मामाजु) मेरो राजनीतिक सुरुवातका व्यक्ति हुनुहुन्थ्यो। वि.सं. २०१८ मा भूमिगत अवस्थाका बेला उहाँ हाम्रो घरमा बास लिन आउनुभएको थियो। त्यतिखेर म सानो केटो थिएँ, उहाँले लेख्दै गर्नुभएको कुरा सुन्दा राजतन्त्र भन्ने चिज राम्रो होइन भन्ने बुझ्न थालेँ,’ उनले सम्झिए।

भट्टराईले आफू २०३३ सालसम्म कांग्रेसप्रति नजिक रहेको तर त्यतिबेलाको बिपी कोईरालाको राजा मिलापको प्रस्तावप्रति असहमति जनाउँदै कम्युनिष्ट विचारधारातर्फ आकर्षित भएको उल्लेख गरे। ‘मैले बिपीजीलाई नै भेटेर तपाईंको यो धारणा मलाई चित्त बुझेन भनेको थिएँ,’ उनले सुनाए, ‘त्यसपछि म गणतन्त्र पक्षधर कम्युनिष्टसँग नजिकिएँ।’

उनले चन्द्रप्रसाद न्यौपानेबाट लोकतान्त्रिक मूल्यबारे धेरै कुरा सिकेको पनि बताए। ‘उहाँ निकै हँसिलो स्वभावका हुनुहुन्थ्यो। उहाँले कांग्रेसका थुप्रै नेताहरूलाई प्रभावित गर्नुभएको रहेछ भन्ने यो पुस्तक पढेर झन् बुझियो,’ उनले भने।

२०६४ सालको निर्वाचन प्रसंग सम्झँदै भट्टराईले थपे, ‘त्यसबेला म र मामा (चन्द्रप्रसाद) दुवै गोरखाबाट उम्मेदवार थियौं। भोट माग्न म मामाकहाँ पुगेको थिएँ। उहाँले हाँस्दै भन्नुभयो— भान्जालाई दक्षिणा दिन सक्छु, तर भोट चाहिँ रूखबाहेक नहाल्ने। मैले भनेको थिएँ— तपाईंको आशीर्वाद नै पुग्छ।’

Facebook Comments Box
0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x