बिनोद खतिवडा
नेपाल जस्तो विकासोन्मुख देशमा बेरोजगारी, गरिबी, सामाजिक विभेद र लैङ्गिक असमानताको समस्याले जनजीवनलाई गहिरो असर पारिरहेको छ । तीमध्ये खासगरी महिला, तेस्रोलिंगी र आर्थिक रूपमा कमजोर समुदायहरू बेरोजगारीको मारमा परेर दैनिकी चलाउन अप्ठ्यारो अवस्थामा पुगेका छन् । जब बाँच्न र परिवार पाल्नको लागि रोजगारीको वैकल्पिक अवसर हुँदैन, तब मानिसहरू बाध्य भएर यौन व्यवसायतर्फ धकेलिन्छन् । यो व्यवसाय न उनीहरूको रोजाइ हुन्छ, न चाहना नै। यो बाध्यता हो — जीवन यापनको विकल्प नभएको कठिन परिस्थितिको उपज हो। नेपालमा यौन व्यवसायलाई कानुनले वैधता दिएको छैन । न त यो व्यवस्थित पेसा हा े। त्यसैले यस पेसामा संलग्न व्यक्तिहरू कानुनी, सामाजिक र व्यक्तिगत सुरक्षा पाउनबाट वञ्चित छन् । उनीहरूलाई समाजले हेप्ने, हेय दृष्टिले हेर्ने, अपराधी जस्तै व्यवहार गर्ने गरेको पाइन्छ । तर, यथार्थ के छ भने यौन व्यवसाय गर्नेहरू आफैं पनि तिनै समाजका सन्तान हुन्, जसले अन्ततः पेट पाल्न र परिवार चलाउनको लागि बाध्य भएर यो बाटो रोजेका छन् । नेपालको ग्रामीण क्षेत्रबाट सहर पस्ने थुप्रै महिलाहरू शिक्षाको अभाव, सीपको कमी र रोजगारीको अवसर नहुँदा यौन व्यवसायमा आकर्षित भएका छन् ।
धेरै जसो अवस्थामा विवाह विघटन, घरेलु हिंसा, श्रीमानको मृत्यु, अथवा परिवारले बहिष्कार गरेपछि महिलाहरू बाँच्न यौन व्यवसायमा जान बाध्य हुने गरेका छन् । काठमाडौं, पोखरा, धरान, विराटनगर लगायत सहरहरूमा यस्ता घटनाहरू निकै सामान्य बनिसकेको छ । यस्तै, तेस्रोलिंगी तथा यौनिक अल्पसंख्यक समुदायका सदस्यहरूले पनि समाजमा पारिवारिक तिरस्कार र रोजगारीको अवसरबाट वञ्चित हुनुपर्दा यौन व्यवसायलाई रोजाइ बनाउनु परेको छ । यस व्यवसायमा लाग्नेहरूका लागि दैनिक जीवन निकै कठिन हुन्छ । उनीहरू सुरक्षित स्थान, स्वास्थ्य सेवा, कानुनी सहायता र सामाजिक सम्मानबाट वञ्चित छन् । ग्राहकबाट धोका, दुर्व्यवहार र शोषण झेल्नु उनीहरूको दैनिकीको हिस्सा बनेको छ । प्रहरी प्रशासनको डर, गिरफ्तारी, दलालहरूको शोषण, र समाजको हेय दृष्टिकोणका कारण उनीहरूको जीवन थप संकटपूर्ण छ । यौन व्यवसायमा संलग्न महिलाहरूले आफ्नो पेशा लुकाउनुपर्छ, परिवार र समाजलाई डराउनुपर्छ, र मानसिक तनावमा बाँच्नुपर्छ ।
स्वास्थ्य जोखिम पनि यौन व्यवसायसँग गहिरोसँग जोडिएको छ । नेपालमा यौन व्यवसायीहरूका लागि सुरक्षित यौन सम्बन्ध, यौनजन्य रोगको उपचार, एचआईभी रोकथाम जस्ता सेवा सहज उपलब्ध छैनन् । केही संघसंस्थाहरूले कन्डोम वितरण, परामर्श सेवा, र स्वास्थ्य परीक्षणको व्यवस्था गरे तापनि पहुँच, सचेतना र खुलेर उपचार गराउने वातावरणको कमीले गर्दा समस्याको समाधान हुन सकेको छैन । यौन व्यवसायमा लाग्ने अधिकांश महिलाहरू स्वास्थ्य जाँच गराउन लाज मान्छन्, डराउँछन् र समाजले तिरस्कार गर्छ कि भनेर थुक्थुकाउँछन् । यसले गर्दा उनीहरू विभिन्न यौनजन्य रोग, मानसिक तनाव र हिंसाको सिकार भइरहेका छन्। सन्तान भएका यौन व्यवसायी महिलाहरूका लागि त समस्या झन् गम्भीर छ । उनीहरू आफ्ना छोराछोरीलाई राम्रो शिक्षा दिन सक्दैनन्, किनभने आफू गरिब छन्, समाजले तिरस्कार गर्छ र छोराछोरीले आमाको पेशाबारे थाहा पाउँदा मानसिक पीडामा पर्छन् भन्ने डर हुन्छ । यस्तो अवस्थामा यौन व्यवसायी महिलाहरू दोहोरो तनावमा बाँच्छन् — एउटा आफ्नो पेट पाल्न, अर्को आफ्ना सन्तानको भविष्य जोगाउन। यौन व्यवसायलाई अपराधको दृष्टिले मात्र हेरेर समाधान खोज्न सकिन्न । बरु यसको मूल जड गरिबी, बेरोजगारी, लैङ्गिक विभेद, सीपको अभाव र सामाजिक भेदभाव हटाउन जरुरी छ । यौन व्यवसायमा लागेकाहरू पनि समाजका नागरिक हुन् र उनीहरूलाई सुरक्षित जीवन, स्वास्थ्य सेवा, शिक्षा, रोजगारी र आत्मसम्मानसहित बाँच्न पाउने अधिकार छ । यसलाई दीर्घकालीन रूपमा समाधान गर्न राज्य, समाज र सबै सरोकारवालाहरूको साझा प्रयास चाहिन्छ । यौन व्यवसायमा संलग्न व्यक्तिहरूलाई मानव अधिकारको दृष्टिकोणबाट हेर्नु जरुरी छ । उनीहरूको सुरक्षा, स्वास्थ्य र सम्मानित जीवन सुनिश्चित गर्न सरकारले नीति निर्माण गर्नुपर्छ । साथै, यौन व्यवसायमा लागेकाहरूका छोराछोरीलाई शिक्षाको पहुँच दिनु, पुनःस्थापना कार्यक्रम सञ्चालन गर्नु, वैकल्पिक रोजगारीका अवसर सिर्जना गर्नु आवश्यक छ ।
यौन व्यवसाय न रोजाइको पेसा हो, न चाहनाको । यो त बाध्यताको परिणाम हो । जब समाजले उनीहरूलाई अवसर दिनेछ, सीप विकास गर्नेछ, गरिबी हटाउनेछ र समान व्यवहार गर्नेछ, तब मात्र यो बाध्यता अन्त्य हुनेछ। त्यसैले यौन व्यवसायीको पीडा बुझ्ने, उनीहरूलाई आत्मसम्मानसहित बाँच्न दिने र समाजको हिस्सा मानेर समावेश गर्ने संस्कार विकास गर्नु आजको अत्यावश्यकता हो ।