×

भूमिसम्बन्धी अध्यादेश चाँडै आउँछ: प्रधानमन्त्री केपी शर्मा ओली

खालीपाना न्युजडेस्क | १ महिना अगाडि

२ माघ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अर्थतन्त्रलाई सबल बनाउने उदेश्यका साथ बिभिन्न अध्यादेश ल्याएको बताउनुभएको छ । उद्योग व्यवसाय प्रवर्धनको लागि अध्यादेश ल्याएकोमा धन्यवाद दिन बुधबार बालुवाटारमा उद्योगी व्यवसायीले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले अर्थतन्त्रलाई चलायमान बनाउदै अघि बढाउने उदेश्यका साथ अध्यादेश ल्याएको भन्दै उत्साहित भएर अघि बढ्न निजि क्षेत्रलाई आग्रह गर्नुभयो । कांग्रेस र एमालेको विचार नमिलेको र सरकार ढल्दै छ भन्ने हल्लामा कुनै सत्यता नभएको बताउँदै ओलीले सरकारले सल्लाह गरेर काम गरिरहेको बताउनुभयो । प्रधानमन्त्री ओलीले केही मानिसहरु भने विरोधका लागि विरोध मात्र गर्ने चरित्रका भएको बताउनुभयो । त्यस्ता चरित्रबाट सचेत हुनुपर्नेमा ओलीले जोड दिनुभयो ।

भूमिसम्बन्धी समस्याहरू सुल्झाउन छिटै अध्यादेश जारी हुने उहाले जानकारी दिनुभयो । सरकारले हाउजिङ गर्न दिने तर बनाइसकेपछि हदबन्दी लगाएर रोक्ने गर्दा व्यक्तिको लगानी डुब्ने र सबै क्षेत्र अस्तव्यस्त हुने कुरालाई चिर्न सो अध्यादेशले सहयोग गर्ने ओलीले स्पष्ट पार्नुभयो । सरकार र निजी क्षेत्र एक्ला एक्लै हिँडेर गन्तव्यमा नपुगिने बताउँदै ओलीले दुवै क्षेत्र पाटनरसिप गरेर अघि बढ्दा मात्र गन्तव्यमा पुगिने प्रष्ट पार्नुभयो । कृषिलाई सबल बनाउन जग्गाको हदबन्दीलाई हटाउनु पर्नेमा जोड दिँदै यसको लागि आवश्यक नीतिगत व्यवस्था गर्नुपर्ने उहाको भनाइ छ ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले अध्यादेशमा भएका लगानी र व्यवसायसम्बन्धी विषयहरु स्वागतयोग्य भएको बताउनुभयो । उहाले कोरोनापछि संकुचित भएको अर्थतन्त्रलाई माथि उकास्न यी अध्यादेश प्रभावकारी हुने भएकाले यसको कार्यान्वयनमा छिटै उपयुक्त नियमावली र कार्यविधि ल्याउनुपर्नेमा जोड दिनुभयो ।

सरकारको सिफारिसमा राष्ट्रपतिबाट गत पुस २९ गते विभिन्न चार अध्यादेश जारी भएको थियो । कार्यक्रममा उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकाल, नेपाल उद्योग परिसङ्घका अध्यक्ष राजेशकुमार अग्रवाल, नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष कमलेश अग्रवाल, नेपाल उद्योग तथा व्यावसायी महासङ्घका अध्यक्ष भगीरथ सापकोटा लगाएतको उपस्थीति रहेको थियो ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *