पौष १५ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता एवं प्रतिनिधि सभा सदस्य गणेश पराजुलीले सभामुख देवराज घिमिरेले सरकारको राजनीतिक प्रतिशोधलाई सघाएको आरोप लगाएका छन् । आज (सोमबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले सभामुख घिमिरेले संविधान र कानुनलाई लत्याउँदै सरकारले साँधेको राजनीतिक प्रतिशोधलाई सघाउ पुग्नेगरी रास्वपाका सभापति रवि लामिछानेको सांसद पद निलम्बन गरेको बताएका हुन् ।
रबि लामिछाने विरुद्ध सहकारी ठगी, संगठित अपराधसहित सम्पत्ति शुद्धीकरणमा कास्की जिल्ला अदालतमा अभियोगपत्र दर्ता भएको जानकारीपत्र प्रहरीले सभामुख देवराज घिमिरे दिए पश्चात पूर्वउपप्रधान तथा गृहमन्त्री समेत रहेका लामिछानेलाई सभामुख देवराज घिमिरेले निलम्बन गरेका हुन्
‘सभामुखज्यूले सरकारको छायाँमा परेर, सरकारको चरणमा ‘त्वम् शरणम्’ गरेर, सरकारले साँधेको राजनीतिक प्रतिशोधलाई सघाउनेगरी देश र जनतालाई लत्याउँदै, सदनको कानुनलाई लत्याउँदै आफैं कानुनविपरीत राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेज्यूको सांसद पद निलम्बन गरिएको सूचना जारी गर्नुभयो,’– उनले भने ।
रवि लामिछानेको सांसद पद निलम्बन गर्ने निर्णय अवैधानिक रहेको उनको दाबी छ । सांसद पद निलम्बनमा राख्ने सभामुख घिमिरेको निर्णय प्रतिनिधि सभा नियमावली २०७९ को दफा २४८ को उपदफा ३ विपरीत रहेको उनले बताए ।
नियमावलीअनुसार मुद्दाको सुनुवाइको क्रममा लामिछाने पुर्पक्षका लागि थुनामा गएको अवस्थामा मात्रै उनलाई निलम्बन गर्न सकिने नेता पराजुलीले बताए । सभामुख घिमिरेले नेपालको इतिहासमा बदनाम सभामुखको छवि बनाएको उनको आरोप छ । उनले भने, ‘पुर्पक्षको लागि थुनामा रहनुपर्छ भन्ने आदेश जारी भएपछि मात्रै काननुतः उहाँको पद निलम्बन गर्न सकिने अवस्था हो । त्यस कारण नेपालको राजनीतिक इतिहासमा त्यस्तो नाम, विशेषगरी सभामुखको नाम अब बदनामी सभामुखको नाम लिँदैगर्दा यतिखेरका सभामुखको नाम लिइन्छ र नेपाली राजनीतिक इतिहासमा यो कालो दिन हो । सभामुखले गरेको, सांसदको गरिमा गिराउने गरी, सांसदको गरिमालाई कार्यपालिका समक्ष ‘तुम् शरणम्’ हुनेगरी इतिहासले हेर्दा यो निकै कालो दिनमा गनिने छ । सभामुखले यसको मूल्य चुकाउनुपर्ने छ ।’