मंसिर २६, काठमाण्डौ ।
पूर्वगृहमन्त्री तथा रास्वपा सभापति रवि लामिछानेलाई पोखरा पुर्याइएको छ। लामिछानेलाई बाराको सिमराबाट काठमाडौं हुँदै हवाइमार्गमार्फत पोखरा लगिएको हो।
लामिछाने वीरगञ्जस्थित सानो पाइला बचत तथा ऋण सहकारी संस्थामा बचतकर्ताको रकम हिनामिना भएको आरोपमा अनुसन्धानका लागि तानिएका थिए। यस क्रममा उनलाई बुद्ध एयरमार्फत काठमाडौंबाट पोखरा लगिएको हो।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने जोडिएको सहकारी ठगी प्रकरणको विषयमा आज पनि पोखरामा विरोध प्रदर्शन जारी छ। पोखराको पृथ्वीचोकमा भेला भएका रास्वपा कार्यकर्ताहरूले मानव अधिकार र न्यायका पक्षमा नाराबाजी गरिरहेका छन्।
प्रहरीले लामिछानेलाई वीरगन्जमा साना पाइला बचत तथा ऋण सहकारी संस्थाको रकम हिनामिनाबारे बयान लिएपछि पोखरा पुर्याएको छ। रबि लामिछानेलाई पोखरा पुर्याएसँगै पोखरामा तनावपूर्ण स्थिति बन्दै गएको छ। पृथ्वीचोकमा भेला भइ महेन्द्र पुल सम्म पुगेका प्रर्दशनकारी र प्रहरी बिच धकेला धकेल ढुङगा प्रहार समेत भएको छ । प्रर्दशनमा सुरक्षा चुनैति बढेसँगै ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ।
प्रदर्शनमा सहभागीहरूले भ्रष्टाचारविरोधी नारासँगै सहकारी पीडितलाई न्यायको माग गरेका छन्। यस्तै,मानव अधिकार उल्लंघन नगर्न र यस प्रकरणमा गहिरो अनुसन्धान गर्न सरकारलाई दबाब दिएका छन्।
प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबी का प्रमुख दिपक थापाले यस मुद्दाको अनुसन्धान अन्तिम चरणमा पुगेको जानकारी दिएका छन्। लामिछानेमाथि संगठित अपराध, सहकारी ठगी, र सम्पत्ति शुद्धीकरणसम्बन्धी आरोपको अनुसन्धान गरिरहेको सीआईबीले अब केही समयमै निष्कर्षमा पुग्ने संकेत दिएको छ।