मङ्सिर १८, २०८१
काठमाडौँ।। कीर्तिपुर नगरपालिकाका निर्वाचित मेयर कांग्रेस उम्मेदवार कृष्णमान डंगोललाई प्रमाणपत्र प्रदान गरिएको छ । मंगलबार निर्वाचन अधिकृतको कार्यालय किर्तिपुरमा निर्वाचन आयोगका प्रतिनिधिहरुले नवनिर्वाचित मेयर डंगोललाई प्रमाणपत्र प्रदान गरेको हो । आइतबार भएको स्थानीय तहको उपनिर्वाचनमा कांग्रेस उम्मेदवार डंगोल ५ हजार ३ सय ३४ मत ल्याई विजयी हुनुभएको थियो ।
प्रमाणपत्र ग्रहण गरेपछि नवनिर्वाचित कीर्तिपुर नगर प्रमुख डंगोलले नगरका सवैलाई विश्वासमा लिएर दुई बर्षभित्र पाँच बर्षमा गर्नुपर्ने काम गर्ने बताउनुभयो । आफ्ना कार्यकालमा जनतालाई प्रत्यक्ष महशुस हुने काम गर्ने र जनताको मत खेर जान नदिने उहाले बताउनुभयो ।
यसअघि २०७९ को निर्वाचनमा कांग्रेसबाटै निर्वाचित मेयर राजकुमार नकर्मीको मृगौलासम्बन्धी रोगबाट गत साउन १० गते निधन भएपछि कीर्तिपुरमा उपचुनाव भएको हो ।