काठमाडौँ । हेटौँडा–भीमफेदी–काठमाडौँ सडकअन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिका–४ गोल्फिन बेंसीमा साँझ भएको सवारी दुर्घटनामा परी ३५ जना यात्रु घाइते भएका छन्। घाइतेमध्ये ६ जनाको अवस्था गम्भीर रहेको बताइएको छ ।
हेटौँडाबाट काठमाडौँतर्फ जाँदै गरेको बा २ ज ९८३ नम्बरको ट्याक्सी र काठमाडौँबाट जनकपुरका लागि आउँदै गरेको बा ३ ख २७२३ नम्बरको मिनीबस एकआपसमा ठोक्किँदा हेटौँडाबाट काठमाडौँतर्फ जाँदै गरेको बा २ ज ८० नम्बरको ट्याक्सीसँग बुधवार अबेर साँझ ठोक्किँएर दुर्घटना भएको थियो । ट्याक्सीसँग ठोक्किए पछि बस सडकबाट करिब १० फिट तल खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्याम अर्यालले जानकारी दिए ।
दुर्घटनामा परी बसमा सवार ३५ जना यात्रु घाइते भएको र घाइतेहरुको उद्धारगरी उपचारका लागि हेटौँडास्थित अस्पताल ल्याइएको प्रहरी नायब उपरीक्षक अर्यालले बताए ।
घाइते मध्ये छ जनाको अवस्था गम्भीर रहेको उनले जानकारी दिए ।
गम्भीर घाइते छ जनालाई थप उपचारका लागि चितवन पठाइएको र बाँकी सबै घाइतेहरुको हेटौंडा अस्पतालमै उपचार भईरहेको उनले बताए।
दुर्घटनामा परी घाइते भएकाको नाम ठेगाना हालसम्म खुल्न नसकेको प्रहरीले जनाएको छ । दुर्घटनाका कारण केहीबेर अवरुद्ध रहेको सो सडक अहिले सञ्चालनमा रहेको उनले बताए । रासस