×

संघीयतामा बदलिँदो बजार :गाउँमै उदाउँदैछन् नयाँ नयाँ व्यापारिक केन्द्र

खालीपाना न्युजडेस्क | २ घण्टा अगाडि

रुकुम पश्चिम । मुसीकोट नगरपालिका भलाक्चाका ६७ वर्षीय जितबहादुर नेपाली युवा अवस्थामा बिहानै घरबाट खाना बोकेर जिल्ला सदरमुकाम खलंगा पुग्थे । उनका लागि आवश्यक कृषि सामग्री र घरायसी सरसामान किन्न पुग्नैपर्ने ठाउँ थियो, खलंगा । तर त्यहाँसम्मको यात्रा सहज थिएन । उनले उकाली–ओराली र जंगलका साँघुरा बाटो हुँदै हिँडेर खलंगा पुग्नुपथ्र्यो ।

वर्षायाममा पहिरो र हिलोले यात्रा अझ कठिन बन्थ्यो । समय, श्रम र आम्दानीको ठूलो हिस्सा त्यही यात्रामा खर्चिनुपथ्र्यो । दिनभर हिँडेर खलंगा पुग्ने, आवश्यक सामान किन्ने र फेरि त्यही थकाइलाग्दो बाटो हुँदै घर फर्किनुपर्ने उनको लागि नौलो थिएन । ‘राति घर पुग्दा थकाईले लखतरान भइसकेको हुन्थेँ, हिँड्नुको विकल्प थिएन, जितबहादुर अतित सम्झिन्छन्, अहिले जस्तो गाडी, पिच बाटो, ओहो ! यति सुविधा भइदिए त हुन्थ्यो,’ उनले स्मरण गरे ।

व्यापारिक केन्द्र, बैंक, विद्यालय, सरकारी कार्यालयजति सबै जिल्ला सदरमुकाममै सीमित थिए । खेतीपातिमात्रै गाउँमा हुन्थ्यो, सदरमुकाम नगई सुखै थिएन,’ रुकुम पश्चिम चौरजहारीका रणबहादुर खत्री भन्छन्,‘सामान किन्न होस्, सरकारी कामकाजका लागि दिनौं लामो यात्रा गर्नुको विकल्प थिएन, गाउँमा स्कूल थिएनन्, छोराछोरीलाई पढाउन पनि सदरमुकाममै पठाउनुपथ्र्यो ।’

विस्तारै अवस्था बदलियो । सडक निर्माण र विस्तारसंगै गाउँहरुमा साना बजार विकास हुन थाले । गाडीहरु चल्न थाले । बजारको सामान गाउँ र गाउँको सामान बजार पुग्न थाल्यो । अघिल्लो पुस्ताकालाई त अहिले जमाना सपनाजस्तै लाग्न थाल्यो । गाउँमै बजार बस्दा गाउँका बासिन्दाको दैनिकी सहज बनायो । गाउँकै मानिसहरु व्यापार व्यवसायतर्फ आर्कषित हुन थाले । मुसिकोट भलाक्चाका जितबहादुरजस्तै धेरैको दैनिकीमा आकाशपाताल परिर्वतन आयो । दश वर्ष माओवादीको सशस्त्र युद्धको प्रभावले थिलोथिलो बनेको रुकुम शान्ति प्रक्रियापछि तंग्रिन थाल्यो ।

युद्ध समाप्तिपछि गाउँमा मानिसहरु ढुक्कले बस्न सक्ने भए । शान्ति र मेलमिलापको सन्देशसहित द्वन्द्वले विस्थापित भएकाहरु आफ्नै गाउँघरमा फर्किए । मुलुकको ध्यान संविधान निर्माणमा केन्द्रित भयो । शान्ति प्रक्रिया र संविधान निर्माणपछि गाउँमा लगानीको वातावरण बन्यो । संघीय शासन व्यवस्थासहितको नयाँ संविधानले जनतामा नयाँ आशा र उत्साह जगायो । रुकुममा मात्र होइन, कर्णालीका अग्ला पहाड, गहिरा खोँच र तीव्र वेगका नदी किनारसम्म सडक पुग्यो ।

संघीयतापछि बनेका स्थानीय सरकारहरुले सडक निर्माण, विद्यालय सञ्चालन र व्यवस्थापन, कृषि सेवा, साना उद्यम दर्ता, खानेपानी आयोजना लगायतका काम आफै सञ्चालन गर्न थाले । विकास योजना वडा तहसम्म छलफल गरेर स्थानीय आवश्यकता अनुसार बनाउन थालिएपछि त्यसको प्रभाव गाउँसम्म पुग्न थाल्यो । जसले गर्दा गाउँमै स साना बजारहरु खडा भए ।

चौरजहारीका रणबहादुर खत्री भन्छन्,‘चियापसल संगै किराना, कृषि सामग्री, होटल, बैकिब सेवा र अन्य व्यवसाय सञ्चालनमा आए । सामान्य कामका लागि सदरमुकामको जोमिखपूर्ण यात्रा गर्नुपर्ने बाध्यता हट्यो ।’

रुकुम पश्चिमको भालाक्चास्थित जलकल्याण माध्यमिक विद्यालयका पूर्व प्रधानाध्यापक बमबहादुर पुनले सडक विस्तारले गाउँमा विकासको ढोका खुलेको बताउँछन् । विकासले बजार स्थापना भए ।

‘तीन दशकसम्म त्यहाँ पढाउँदा हिँडेरै गइयो, जब रिटार्यड भइयो, मोटरबाटो चल्यो,’ पुन भन्छन्, ।अहिले बाटैभरी चियापसल छन्, आवश्यक सरसामान जहाँ पनि किन्न पाइन्छ । सडक विस्तारसँगै स्थानीय बजार विकास भएपछि गाउँका बासिन्दाको दैनिकीमा अर्को ठूलो परिवर्तन आएको छ ।

पूर्वशिक्षक पुनका अनुसार एक समय एउटा कापी, कलम वा चार्ट पेपर किन्न पनि मुसिकोट सदरमुकाम पुग्नुपथ्र्यो । स्टेशनरी, हार्डवेयर, औषधि सबै सामान त्यहीँबाट ल्याउँथ्यौं । सडक निर्माणसंगै झुल्केत, सोलाबाङ्ग र ट्याउखोला जस्ता ठाउँमा बजार विकास भएका छन् । अहिले त्यहाँ स्टेशनरी, फोटोकपी, हार्डवेयर, कृषि सामग्री र किराना पसल सञ्चालनमा छन् । चुना गाउँकी धनसरा कठायत पहिलेका धान फल्ने फाँटदेखि सालघारी, सल्लाघारीहरुमा बजार बनेको देख्दा छक्क छिन् । हाल झुल्केत, सोलाबाङ्ग, राडीबजार र चौहरजारी, बागबजार जिल्लाका ठूला व्यापारिक केन्द्र बनेका छन् । मुसिकोट नगरपालिकाको आर्थिक विकास शाखाका अनुसार २०८२ माघदेखि चैतसम्ममात्रै १७ वटा वाणिज्य १३ वटा उद्योग दर्ता भएका छन् ।

गाउँमै स्वरोजगारका अवसर गाउँमा बजार विस्तार भएपछि किसानले आफ्ना उत्पादन बिक्री गर्ने अवसर पाएका छन् । किसानहरूको तरकारी, पिठो, दूध तथा दुग्धजन्य वस्तु नजिकैका बजारमा बिक्री हुन थालेको छ । किसानहरुलाई बिहान बजार पुगेर सामान बेच्ने र साँझ घर फर्किने अवस्था बनेको छ । पहिले घरमै खपत हुने उत्पादन अहिले नगद आम्दानीको स्रोत बन्न थालेको छ । बजार विस्तारसंगै गाउँमा स्वरोजगारका अवसर पनि बढेका छन् ।

विदेशबाट फर्केका युवाहरु नयाँ नयाँ व्यापार व्यवसायमा आर्कषित बनेका छन् । भलाक्चाका रविन्द्र पुन सात वर्ष खाडी मुलुक बसेर तीन वर्षदेखि फर्निचर उद्योग सञ्चालन गरिरहेका छन् । स्थानीय बजारले ग्राहक पनि गाउँकै आसपासमा उपलब्ध गराएको छ । गाउँमै बनेका टेबुल, कुसी, ढोका र झ्याल स्थानीय बजारमा बिक्री हुने गरेका छन् । आज अदुवा, सुन्तला लगायतका कृषि उत्पादन स्थानीय व्यापारीमार्फत दाब, नेपालगञ्ज र काठमाडौंसम्म पुगिरहेका छन् । गाउँका साना फर्निचर उद्योगका सामग्री पनि नजिकका बजार हुँदै अन्य क्षेत्रमा बिक्री हुन थालेका छन् । सडक विस्तार, स्थानीय सरकारको लगानी र गाउँमै बजार विकाससँगै कर्णालीका धेरै गाउँमा व्यापारिक गतिविधि विस्तार हुँदै गएको छ ।

बिहान सूर्योदय नहुँदै पश्चिम रुकुमको सिम्रुतु बजार चलायमान भइसकेको हुन्छ । धेरै पसलका सटरहरु खुलिसकेका हुन्छन् । बजारमा चहलपहल सुरु भइसकेको हुन्छ । एउटा पिकअपबाट अदुवा र बेसारका बोरा झारिँदै हुन्छन् ।

सडकपारि अर्को गाडीले पहाडबाट ल्याइएका कागती ओरालिरहेको हुन्छ । कृषि सामग्री पसलअगाडि मलका बोरा थुप्रिएका हुन्छन् । चिया पसलमा किसानहरू चियाको चुस्कीसँगै खेतीपातीका कुरा गरिरहेका हुन्छन् । यो सिम्रुतु बजारको दृश्य हो । यो बजार हेर्दा दिनप्रतिदिन व्यस्त बन्दै गएको छ । त्रिवेणी गाउँपालिका–२ मा रहेको सिम्रुतु बजार अहिले आसपासका गाउँका बासिन्दाका लागि व्यापार, शिक्षा र सरकारी सेवाको मुख्य केन्द्र बनेको छ । चारैतिर पहाडले घेरिएको यस गाउँपालिकामा करिब २० हजार ५२५ जनसंख्या बसोबास गर्छन् । आज यही बजारले दैनिक आवश्यकतादेखि कृषि व्यापारसम्मका गतिविधि धानिरहेको छ । सिम्रुतु बजारको भौतिक स्वरुपसमेत बदलिएको छ । स्थानीय रमेश घर्तीमगरका अनुसार माटो र ढुंगाले बनेका घरहरुमध्ये अधिकांश कंक्रिटमा रुपान्तरण भएका छन् । सिम्रुतु बजारको स्वरूप पनि बदलिएको छ, आज सडकका दुवैतर्फ पक्की भवन निर्माण भएका छन्, बजार अहिले स्थानीय आर्थिक गतिविधिको केन्द्र बनेको छ । यहाँ हार्डवेयर पसल, किराना, कृषि सामग्री पसल, होटल–रेस्टुरेन्ट, वित्तीय सेवा र अन्य व्यवसाय सञ्चालनमा आएका छन् ।

बजारको राम्रो सम्भावना देखेपछि स्थानीयले अदुवा, लसुन, बेसार, सुन्तला, कागती र अलैँची व्यावसायिक रूपमा उत्पादन गर्न थालेका छन् । त्रिवेणी गाउँपालिकाको कृषि अधिकृत समेत रहेका रमेशका भनाईमा खेती अब परिवारको खानाका लागि मात्र होइन, नगद आम्दानीको भरपर्दो माध्यम पनि बनेको छ ।

अहिले सिम्रुतुबाट दाब, काठमाडौं लगायतका ठूला बजारसम्म कृषि उत्पादन सहज रूपमा ढुवानी गर्न सकिन्छ । पहिले टाढा लाग्ने बजार अहिले किसानका नियमित व्यापारिक गन्तव्य बनेका छन् । रमेशका अनुसार सिम्रुतुको परिवर्तनलाई सडकले मात्रै व्याख्या गर्न सकिँदैन।

संघीयता लागू भएपछि कृषि तथा स्थानीय विकासमा स्थानीय सरकारको भूमिका बढेको छ । त्रिवेणी गाउँपालिकाले उन्नत बीउ वितरण, कृषि यान्त्रिकीकरण, अनुदान, प्रोत्साहन कार्यक्रम, किसान तालिम तथा कृषि सडक निर्माणजस्ता कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

यी कार्यक्रमले परिवर्तनलाई गति दिएका छन्, यद्यपि अझै थप लगानी आवश्यक छ। स्थानीय बजार विस्तारसँगै कर्णालीको कृषि जिल्ला बाहिरका बजारसँग पनि जोडिन थालेको छ । पहिले छिमेकी गाउँसम्म सीमित रहने कृषि उत्पादन अहिले ठूला आपूर्ति शृंखलासम्म पुग्न थालेका छन् । यसको एउटा उदाहरण त्रिवेणी श्रम सहकारी हो । कर्णाली प्रदेश सरकारको सहयोगमा स्थापना गरिएको यो बेसार प्रशोधन केन्द्रले स्थानीय कृषिमा नयाँ सम्भावना थपेको छ।

०८० सालसम्म आइपुग्दा करिब २०० किसानले व्यावसायिक रूपमा बेसार खेती सुरु गरेका छन् । प्रशोधन केन्द्र र आवश्यक मेसिनरी स्थापना गर्न करिब एक करोड ५० लाख रुपैयाँ लगानी गरिएको छ । सहकारीले प्रशोधित बेसारका सुक्खा स्लाइस गुणस्तर परीक्षणका लागि जर्मनी पठाइसकेको छ । अहिले निर्यातको तयारी भइरहेको छ । भविष्यमा माग बढ्ने अपेक्षासहित छिमेकी गाउँका किसानलाई पनि व्यावसायिक बेसार खेती विस्तार गर्न प्रोत्साहन गरिएको छ । यसले स्थानीय किसानका लागि नयाँ अवसर सिर्जना गरेको छ । पहिले काँचो बेसार व्यापारीलाई अनिश्चित मूल्यमा बेच्नुपर्ने अवस्था थियो ।

अहिले गाउँमै प्रशोधन गरेर मूल्य अभिवृद्धि गरी बजार पठाउने सम्भावना बनेको छ । यसले स्थानीय बजारलाई किनबेचको केन्द्रबाट प्रशोधन, उद्यम र निर्यातमुखी कृषि विकासको आधारतर्फ अघि बढाएको संकेत गरेको छ । त्रिवेणी गाउँपालिकाभर करिब २५० कृषि समूह र सहकारी सक्रिय छन् ।

तर सिम्रुतुमा अझै कृषि संकलन केन्द्र र शीतभण्डार (कोल्ड स्टोर) स्थापना हुन सकेको छैन । छिट्टै बिग्रिने कृषि उपज सुरक्षित रूपमा भण्डारण गर्न नसक्नु किसानका लागि अहिले पनि प्रमुख समस्यामध्ये एक हो । बिहानैदेखि वरपरका गाउँबाट अदुवा, सुन्तला, लसुन र अन्य कृषि उपज बोकेका पिकअप गाडीहरू बजारमा आइपुग्छन् । ती गाडीले सामान मात्र ल्याएका हुँदैनन्, कर्णालीको बदलिँदो अर्थतन्त्रको चित्र पनि बोकेर आएका हुन्छन् । सिम्रुतु बजारले गाउँ, कृषि र व्यापारलाई जोड्ने महत्वपूर्ण केन्द्र बनेको छ ।

राजमार्गसँगै हुर्किएको बजार पश्चिम रुकुमको खलंगाबाट केही किलोमिटर टाढा रहेको शीतलपोखरी अहिले जिल्लाका सबैभन्दा व्यस्त सडक छेउका बजारमध्ये एक हो । मध्यपहाडी लोकमार्गको किनारमा रहेको यो बजार एक समय रुकुम पश्चिम, रुकुम पूर्व र सल्यान जोड्ने साधारण चोकका रूपमा परिचित थियो । अहिले भने यो यात्रु, किसान र स्थानीय व्यवसायीका लागि महत्वपूर्ण व्यापारिक केन्द्र बनेको छ । बजारमा दिनभरि यात्रुहरूको आउजाउ भइरहन्छ । बसहरूले यात्रु चढाउने–ओराल्ने गर्छन् । किसानहरूले कृषि उपज ल्याएर यहीँबाट ठूला बजारतर्फ पठाउँछन् ।

यात्रुहरू केहीबेर विश्राम गर्छन्, इन्धन भर्छन्, खाना खान्छन आवश्यक सामान किन्छन् । यसले शीतलपोखरीलाई स्थानीय अर्थतन्त्रको सक्रिय केन्द्र बनाएको छ । विगत एक दशकभन्दा बढी समयदेखि पेट्रोल पम्प सञ्चालन गर्दै आएका बसन्त पुनले बजारको परिवर्तन नजिकबाट देखेका छन् । उनी भन्छन्,‘मैले व्यवसाय सुरु गर्दा यो बाटोमा गाडी निकै कम चल्थे । अहिले सवारीको चाप धेरै बढिसकेको छ । गाडी बढेसँगै बजार पनि विस्तार हुँदै गयो ।’

पहिले यात्रुहरू केहीबेर रोकिने ठाउँ मात्र रहेको शीतलपोखरी अहिले व्यापारिक गतिविधिले भरिएको बजारमा परिणत भएको छ । सवारीसाधनको संख्या बढेसँगै नयाँ होटल खुलेका छन् । किराना पसल थपिएका छन् । साना–ठूला व्यवसाय सञ्चालनमा आएका छन् ।

मुसिकोट नगरपालिकाको खलंगा बजार जिल्लाको सबैभन्दा ठूलो व्यापारिक केन्द्र हो । सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्था, थोक व्यापारी र यातायात सेवा यहीँ केन्द्रित छन् । जिल्ला प्रशासन र व्यापारिक गतिविधिको मुख्य केन्द्रका रूपमा यसको भूमिका अहिले पनि कायम छ ।

पूर्वतर्फ रहेको राडी बजारले आठबिसकोट नगरपालिका मात्र होइन, छिमेकी जाजरकोट र डोल्पाका बासिन्दालाई पनि सेवा दिइरहेको छ । यही बजारबाट दैनिक रूपमा सामान ओसारपसार हुने गर्छ । दुर्गम हिमाली बस्तीहरू पनि यही बजारमार्फत ठूला व्यापारिक केन्द्रसँग जोडिएका छन् ।

झुलनेटा बजार त्रिवेणी गाउँपालिकाका किसानका लागि महत्वपूर्ण सेवा केन्द्र बनेको छ । किसानहरूले यहीँबाट बीउ, मल र कृषि औजार खरिद गर्छन् । औषधि, खाद्यान्न र दैनिक उपभोगका सामग्रीका लागि अब सदरमुकाम पुग्नुपर्ने बाध्यता धेरै हदसम्म हटेको छ ।

बाली भित्र्याउने समयमा यही बजारले नजिकका गाउँबाट कृषि उपज संकलन गरी ठूला बजारमा पठाउने काम पनि गर्छ । दक्षिणतर्फ रहेको चौरजहारी बजार अहिले जिल्लाको प्रमुख कृषि व्यापारिक केन्द्रका रूपमा परिचित छ । सुन्तलाको मौसम सुरु भएपछि यही बजारबाट ताजा फलफूल बोकेका ट्रक नेपालगञ्ज, बुटवल र पोखराका थोक बजारतर्फ जाने गर्छन् ।

यसले स्थानीय किसानलाई जिल्लाबाहिरका बजारसँग प्रत्यक्ष जोडेको छ । त्यस्तै सिम्रुतु, खारा लगायतका साना बजार र संकलन केन्द्रले पनि स्थानीय कृषि व्यापार विस्तारमा भूमिका खेलेका छन् । किसानहरूले अदुवा, लसुन, तरकारीका बीउ तथा अन्य नगदे बाली यहीँ ल्याएर सङ्कलन गर्छन् । त्यसपछि ती उत्पादन दाब, काठमाडौं तथा देशका अन्य बजारमा ढुवानी गरिन्छ ।

सिम्रुतुमा स्थापना भएको बेसार प्रशोधन केन्द्रले स्थानीय कृषिलाई थप सम्भावना दिएको छ । किसानहरू अब काँचो बेसार मात्र बेच्ने अवस्थामा छैनन् । गाउँमै प्रशोधन गरेर मूल्य अभिवृद्धि गरिएका उत्पादन बजारमा पठाउने तयारी भइरहेको छ ।

प्रशोधित बेसार जर्मनीसम्म निर्यात गर्ने लक्ष्यका साथ काम अघि बढाइएको छ । यी बजारको विकासले पश्चिम रुकुमको अर्थतन्त्र विस्तारै सदरमुकाममा मात्र सीमित नरहेको देखाएको छ । व्यापारिक गतिविधि अहिले जिल्लाका विभिन्न पालिकामा फैलिएको छ । स्थानीय बासिन्दाले आफ्नै नजिक बजार, सेवा र व्यवसायका अवसर पाउन थालेका छन् ।

यसको प्रभाव व्यापारमा मात्र सीमित छैन । गाउँमै बजार विस्तार भएपछि धेरै परिवारले आफ्नै ठाउँमा रोजगारी र आयआर्जनको आधार बनाएका छन् । बजार अहिले सामान किनबेच गर्ने ठाउँ मात्र नभई स्थानीय उद्यम, रोजगारी र आर्थिक गतिविधिको केन्द्र बनेको छ । यसलाई पुष्टि गर्छ, नयाँ उद्योग दर्ताको तथ्यांकले ।

आर्थिक वर्ष २०८२÷८३ को उद्योग प्रशासन प्रतिवेदन अनुसार पश्चिम रुकुममा ३८१ वटा उद्योग दर्ता भएका छन् । ती उद्योगबाट ६२३ जनाले प्रत्यक्ष रोजगारी पाएका छन् ।

यसले जिल्लामा परम्परागत व्यापारसँगै उद्योग र उद्यम पनि विस्तार हुँदै गएको देखाउँछ । सोही तथ्यांक अनुसार दर्ता भएका उद्योगमध्ये २८ वटा कृषि तथा वनजन्य उत्पादनमा आधारित, २० वटा पर्यटन क्षेत्रमा, १० वटा पूर्वाधारसँग सम्बन्धित र ४५ वटा सेवा क्षेत्रमा सञ्चालनमा छन् । सोही आर्थिक वर्षमा दर्जनौँ घरेलु तथा साना उद्योग थप दर्ता भएका थिए, जसबाट १० लाख ४ हजार रुपैयाँभन्दा बढी दर्ता शुल्क संकलन भएको थियो ।

स्थानीय बजारमा व्यापारिक गतिविधि बढेको अर्को प्रमाण बजार अनुगमन पनि हो । आर्थिक वर्ष २०८२÷८३ मा खलंगा, चौरजहारी, सोलाबाब, साँख लगायतका बजार क्षेत्रमा बजार अनुगमन गरिएको थियो । यस क्रममा किराना पसल, मासु पसल, बेकरी, फलफूल पसल तथा अन्य खुद्रा व्यवसाय गरी १६० भन्दा बढी व्यवसायको निरीक्षण गरिएको थियो ।

यी तथ्यांकले पश्चिम रुकुममा व्यापारिक गतिविधि अब सदरमुकाममा मात्र सीमित नरहेको स्पष्ट देखाउँछन् । स्थानीय तह गठनपछि सडक, विद्युत, खानेपनी, सञ्चार तथा अन्य पूर्वाधार गाउँसम्म विस्तार हुँदा रुकुम पश्चिमका दुर्गम बस्तीहरुमा बजारको स्वरुप फेरिँदै गएको छ । विगतमा सामान्य उपभोग्य वस्तु किन्न पनि सदरमुकाम वा ठूला बजार धाउनुपर्ने बाध्यता अहिले गाउँमै खुलेका पसल, होटल, कृषि उपज संकलन केन्द्र तथा सेवा केन्द्रले काम गरिरहेका छन् । यसले गाउँमा उपभोगको सहजता मात्र बढाएको छैन्, स्थानीय उत्पादनको बिक्री, रोजगारी र साना व्यवसायको अवसरसमेत सिर्जना गरेको छ । स्थानीय तहले सडक तथा पूर्वाधार निर्माणलाई प्राथमिकता दिएसंगै गाउँ गाउँमा विस्तार हुने क्रम बढेको

देखिन्छ ।

कुनै समय ।गाउँ भनेर चिनिने बस्तीहरु अहिले स्थानीय आर्थिक गतिविधिका केन्द्र बन्न थालेका छन् । यद्यपि यी बजारलाई दिगो र व्यवस्थति बनाउन स्थानीय उत्पादनको बजारीकरण, नियमित यातायात, बैंकिंग तथा वित्तीय सेवा, भण्डारन, बजार पूर्वाधार र व्यवसाय प्रर्वद्धनमा स्थानीय तहले थप ध्यान दिनुपर्ने देखिन्छ । स्थानीय तहको पूर्वाधार विस्तारले रुकुम पश्चिमका गाउँलाई बजारसंग जोड्ने मात्र होइन, गाउँमै बजार निर्माण गर्ने आधारसमेत तयार गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Play exciting pokies and claim big bonuses at Fair Go Casino, a top choice for Australian online gaming enthusiasts.

Experience thrilling wins and fast payouts at Hellspin Casino, offering Australian players a secure and fun gaming environment.

KingBilly Casino delivers premium pokies, engaging promotions, and reliable payouts for Australian online casino fans.

Enjoy top-quality pokies and table games at Ricky Casino Australia, a safe and entertaining platform for Aussie players.

Discover an exciting selection of pokies and rewarding bonuses at StayCasino, designed specifically for Australian online players.

Sweet wins and immersive gameplay await at Big Candy Casino, offering Australian players a fun-filled online casino adventure.

Play popular pokies and enjoy fast withdrawals at JooCasino, providing Australian players with a reliable online casino experience.

Level Up Casino offers exciting slots, generous bonuses, and a secure platform for Australian players seeking big wins.