२०६३ वैशाख ११ गतेको दिन नेपाली राजनीतिक इतिहासमा एउटा युगान्तकारी प्रस्थान विन्दु हो । १९ दिने ऐतिहासिक जनआन्दोलनको बलमा तत्कालीन निरंकुश शाही कदमलाई परास्त गर्दै जनताले आफ्नै शक्तिको पुनःस्थापना गरेको यो दिन नै ‘लोकतन्त्र दिवस’ हो । यसको मुख्य दर्शन राज्यशक्तिको स्रोत जनता नै हुन् भन्ने थियो, जसले दशकौंदेखिका केन्द्रीकृत सत्तालाई नागरिकको घरदैलोसम्म पुर्याउने संकल्प गरेको थियो । दार्शनिक रूपमा यो लोकतन्त्र केवल शासन व्यवस्था परिवर्तनको प्राविधिक विषय मात्र नभई सामाजिक न्याय, समावेशिता र विधिको शासनको बलियो जगमा उभिएको एउटा जीवन्त आदर्श हुनुपर्ने थियो ।
२०६३ देखि २०८३ सम्मको यो २० वर्षको लामो यात्रामा नेपालले एकात्मक राजतन्त्रको अन्त्य गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रसम्मको ऐतिहासिक र संरचनात्मक छलाङ मारेको छ । यद्यपि, उच्च दार्शनिक सिद्धान्त र भुइँतहको व्यवहारका बीचमा देखिएको गहिरो खाडलले गर्दा आजपनि आम नागरिकमा पूर्ण अपनत्व र सन्तुष्टि भने पैदा हुन सकेको छैन ।
विगत २० वर्षको कालखण्डमा नेपालले दुई पटकको संविधान सभाको अभ्यासबाट नयाँ मौलिक संविधान प्राप्त गर्यो, जसले धर्मनिरपेक्षता, संघीयता र समानुपातिक समावेशितालाई संवैधानिक रूपमै संस्थागत गर्यो । यो उपलब्धि सामान्य थिएन, तर विडम्बनापूर्ण कुरा के रह्यो भने राजनीतिक दल र नेतृत्वले लोकतन्त्रलाई केवल सत्ता आरोहणको औजार र चुनावी जोडघटाउको माध्यमका रूपमा मात्र प्रयोग गरे ।
यसले गर्दा व्यवस्था परिवर्तन भएपनि नागरिकले अनुभूत गर्ने ‘डेलिभरी’ वा सेवा प्रवाहको पक्ष निकै कमजोर र निराशाजनक रह्यो । जनताले ०६३ मा जुन अदम्य उत्साह र बलिदानको भावनाका साथ सडकमा उत्रिएका थिए, उनीहरूको मूल सपना आर्थिक समृद्धि, विधिको शासन र भ्रष्टाचारमुक्त सुशासन थियो । तर, बढ्दो नीतिगत विचलन, दलभित्रको अलोकतान्त्रिक सिन्डिकेट र दण्डहीनताले गर्दा लोकतन्त्रको ‘अमृत’ सीमित राजनीतिक र व्यापारिक वर्गले मात्र चाख्न पाएको भान आम जनमानसमा परेको छ । ०८३ को यो संघारमा उभिएर हेर्दा, लोकतन्त्रले केही संरचनात्मक सफलता त हासिल गरेको छ, तर जनजीविका र सुशासनको कसीमा अझै निकै कठिन यात्रा तय गर्न बाँकी देखिन्छ।
लोकतन्त्रको २० वर्षे नलीबेलीः उद्देश्य र वास्तविक परिणाम
०६३ को जनआन्दोलनको प्राथमिक उद्देश्य १० वर्षे लामो र पीडादायी सशस्त्र द्वन्द्वको स्थायी अन्त्य गरी मुलुकमा शान्ति बहाली गर्नु र नेपाली जनतालाई वास्तविक अर्थमा सार्वभौमसत्ता सम्पन्न बनाउनु थियो । सैद्धान्तिक रूपमा यो एउटा ‘प्रतिस्पर्धात्मक बहुदलीय लोकतन्त्र’ को मोडल थियो, जसले नागरिकका आधारभूत मौलिक अधिकार, प्रेस स्वतन्त्रता र स्वतन्त्र न्यायपालिकाको पूर्ण ग्यारेन्टी गर्ने परिकल्पना गरेको थियो । विचारधारात्मक हिसाबले यसले उदारवादी लोकतन्त्रका मूल्य र समाजवादी अर्थव्यवस्थाका सकारात्मक पक्षलाई फ्युजन गरेर ’समृद्ध नेपाल’ को राष्ट्रिय लक्ष्य निर्धारण गरेको थियो । तर, विगत दुई दशकको परिणामलाई सूक्ष्म रूपमा समीक्षा गर्दा हामीले केही विरोधाभासपूर्ण र मिश्रित चित्रहरू पाउँछौ । एकातिर राज्यका हरेक अंगमा दलित, महिला, जनजाति र सीमान्तकृत समुदायको प्रतिनिधित्व र पहुँच सांकेतिक रूपमा बढेको छ भने, अर्कोतिर राजनीतिको चरम व्यापारीकरण र ‘डनवाद’ का कारण इमानदार कार्यकर्ता र निष्ठावान नागरिकहरू राजनीतिबाटै किनारा धकेलिने खतरा बढेको छ ।
पछिल्लो दुई दशकमा राज्यको पुनर्संरचना भएर शक्ति तल्लो तहसम्म त पुग्यो, तर कर्मचारीतन्त्र र राजनीतिक नेतृत्वमा पूरानै सामन्ती र केन्द्रमुखी मानसिकता अझै हावी देखिन्छ । यसको प्रत्यक्ष नकारात्मक असर शिक्षा, स्वास्थ्य र रोजगारी जस्ता आधारभूत क्षेत्रमा पर्यो, जसले गर्दा ऊर्जावान युवा जनशक्ति भविष्य नदेखेर लाखौको संख्यामा विदेशिनु पर्ने राष्ट्रिय बाध्यता झन् भयावह बन्दै गयो। ०६३ को आन्दोलनले खोजेको परिणाम सुशासन र कानुनी राज्य थियो, तर व्यवहारमा दलीय भागबण्डा, ठूला भ्रष्टाचार काण्डहरूमा राजनीतिक संरक्षण र ‘क्रोनी क्यापिटालिज्म’ को जालोले मुलुकलाई गाँज्यो । यसले गर्दा लोकतन्त्रको लाभ आम विपन्न नागरिकको चुल्होसम्म पुग्नै सकेन । यद्यपि, एउटा सुखद पक्ष के छ भने यो अवधिमा नागरिक चेतना र सूचनाको हकको प्रयोग निकै सशक्त भएको छ । आजको नेपाली नागरिक हिजोको जस्तो केवल ’मूकदर्शक’ वा रैती मात्र छैन; उसले सत्तालाई प्रश्न गर्न सिकेको छ र सामाजिक सञ्जाल एवं प्रविधिको प्रयोग गर्दै शासन व्यवस्थालाई जवाफदेही बनाउन निरन्तर खबरदारी गरिरहेको छ ।
लोकतन्त्र कुनै एक पटक स्थापना गरेपछि सँधैलाई पुग्ने ’तयारी वस्तु’ होइन, यो त निरन्तर मलजल र सुधार आवश्यक पर्ने प्रक्रिया हो । २० वर्षको यो चुनौतीपूर्ण अनुभवले हामीलाई के सिकाएको छ भने, केवल बाह्य व्यवस्था परिवर्तन गरेर मात्र नागरिकको जीवनस्तर फेरिने रहेनछ, यसका लागि राजनीतिक पात्र र प्रवृत्तिमा पनि आमूल रूपान्तरण अनिवार्य छ ।
नेपाली कांग्रेस र कम्युनिष्ट घटकहरूले आफूलाई लोकतन्त्रको एकमात्र ‘व्याख्याता र पहरेदार’ दाबी गरिरहँदा, उनीहरूले आफ्नै दलभित्रको आन्तरिक लोकतन्त्र, पारदर्शिता र नयाँ पुस्तालाई नेतृत्व सुम्पिने कुरामा भने ठूलो कन्जुस्याइ गरेको देखिन्छ। नेतृत्व हस्तान्तरणको अभाव र पुरानै शैलीको झिनामसिना कार्यसम्पादनले गर्दा परम्परागत शक्तिहरू माथि आज गम्भीर नैतिक र राजनीतिक संकट आइलागेको छ । यसैको परिणाम स्वरूप ०८२ को निर्वाचनपछि नेपाली राजनीतिमा एउटा नयाँ मोड आएको छ, जसले स्थापित दलहरूलाई ‘समयमै बदलिने कि इतिहासको पानामा सीमित हुने’ भन्ने कठोर आत्मसमिक्षाको मोडमा पुर्याएको छ ।
नयाँ पुस्ताको उदय र डिजिटल जेनेरेशनको कार्यभार
२०८२ फागुन २१ को निर्वाचनपछि राष्ट्रिय स्वतन्त्र पार्टीका नवीन र युवा शक्तिको सरकारमा सशक्त आगमनले नेपालको लोकतन्त्रमा एउटा नयाँ आशा र उत्साहको सञ्चार गरेको छ । यो समूहमा प्रायः विदेशमा पढेका, विज्ञता हासिल गरेका, प्रविधिमैत्री र डिजिटल युगको संवेदनशीलता बुझ्ने युवाहरूको बाहुल्यता छ । उनीहरूको सरकारमा उपस्थिति केवल पात्रको परिवर्तन मात्र नभई, पुरानो र भद्दा ‘प्रणाली’लाई नै डिजिटल र छरितो बनाउने एउटा ठूलो अवसर पनि हो ।
उनीहरूले अघि सारेका सुशासनका एजेण्डा, सेवा प्रवाहमा पारदर्शिता र ’आर्टिफिसियल इन्टेलिजेन्स’ एवं प्रविधिको उच्चतम प्रयोग गर्ने नीतिहरू वास्तविक लोकतन्त्रको मर्म र जनचाहनासँग निकै नजिक देखिन्छन् । डिजिटल जेनेरेशनको यो टीमले यदि व्यक्तिगत लाभ भन्दा माथि उठेर डेटा र सिस्टमका आधारमा राज्य सञ्चालन गर्न सक्यो भने, नेपाली लोकतन्त्रले बल्ल आफ्नो वास्तविक र आधुनिक रूप धारण गर्नेछ ।
यद्यपि, यी नयाँ अनुहारका सामु चुनौतीहरू पनि हिमालय जस्तै अग्ला र कठिन छन्। दशकौदेखि जरा गाडेर बसेको भ्रष्टाचारको संजाल, कर्मचारीतन्त्रभित्रको अकर्मण्यता र परम्परागत दलहरूले खडा गर्ने राजनीतिक अवरोधलाई चिरेर नतिजा निकाल्नु चानचुने कुरा होइन। रास्वपाको वास्तविक परीक्षा उनीहरूको नारामा होइन, बरु नागरिकले दैनिक भोग्ने सास्ती न्यूनीकरणको ’डेलिभरी’ मा हुनेछ । यदि उनीहरूले सरकारी कार्यालयमा हुने ढिलासुस्ती, फाइल घुमाउने प्रवृत्ति र बिचौलियाको प्रभावलाई शून्यमा झार्न सके भने, त्यसले पुराना दलहरूलाई पनि आफूलाई सुधार्न ठूलो नैतिक दबाब सिर्जना गर्नेछ। यसले नेपाली कांग्रेस, एमाले र माओवादी जस्ता पुराना शक्तिहरूलाई आफ्ना खिया लागेका कार्यशैली परित्याग गरी युवाहरूलाई नीति निर्माणको मुख्य ठाउँमा ल्याउन र पार्टीलाई २१औ शताब्दीको गतिमा ढाल्न बाध्य तुल्याउनेछ।
नयाँ पुस्ताको यो नेतृत्वले लोकतन्त्रलाई केवल ‘भावुक भाषण र फेसबुक लाइभ’ मा सीमित नगरी ठोस ‘नतिजा र उत्पादन’ मा बदल्न सक्नुपर्छ । लोकतन्त्रमा केवल प्रक्रिया पुर्याउनु मात्र ठूलो कुरा होइन, त्यसले समाजमा दिने उत्पादनले मात्र यसको सान्दर्भिकता पुष्टि गर्छ । डिजिटल जेनेरेशनले ल्याएको यो नयाँ लहरले यदि विदेश पलायन हुन लागेको युवा जनशक्तिलाई स्वदेशमै उद्यमी बन्ने वातावरण र रोजगारी सुनिश्चित गर्न सक्यो भने मात्र २०६३ को आन्दोलनको अधुरो सपना पूरा हुनेछ । पुराना दलहरूले पनि आफूलाई रूपान्तरणको बाटोमा लैजान नयाँ पुस्ताको यो ऊर्जालाई ’अस्तित्वको खतरा’ भन्दा पनि एउटा स्वस्थ्य लोकतान्त्रिक प्रतिस्पर्धाको रूपमा लिनुपर्छ । अबको राजनीति केवल हिजो जेल बसेको वा त्याग गरेको ‘इतिहासको ब्याज’ खाने विषय मात्र नभई, भोलिको समृद्ध नेपालको ‘डिजिटल र इकोनोमिक ब्लुप्रिन्ट’ कोर्ने विषय हुनुपर्छ ।
सरोकारवालाको भूमिका र सुधारका मार्गचित्र
लोकतन्त्र केवल राजनीतिक दलका कार्यालय वा सिंहदरबारको सरकारले मात्र फुलाउने र फलाउने कुनै ’अमृत वृक्ष’ होइन। यो त एउटा साझा राष्ट्रिय बगैचा हो, जहाँ नागरिक समाज, सञ्चार जगत, निजी क्षेत्र र आम जनता सबैको उत्तिकै दायित्व र लगनशीलता आवश्यक पर्छ। जनता केवल राज्यसँग अधिकार मात्र माग गर्ने र सुविधा मात्र खोज्ने उपभोक्ता होइनन्, उनीहरू त आफ्ना नागरिक कर्तव्य र जिम्मेवारीप्रति पनि उत्तिकै सचेत हुनुपर्छ ।
लोकतन्त्रमा जनताको भूमिका केवल पाँच वर्षमा एक पटक भोट हाल्ने बेला मात्र सीमित हुनु हुँदैन; सरकारका हरेक निर्णयमा निगरानी राख्ने, रचनात्मक सुझाव दिने र गलत काममा तत्काल खबरदारी गर्ने ’सक्रिय नागरिक’ को भूमिका आजको टड्कारो आवश्यकता हो । नागरिक समाजले पनि दलहरूको लाचार छायाँ वा राजनीतिक भर्ती केन्द्र नबनी, पूर्ण रूपमा स्वतन्त्र र निष्पक्ष भएर लोकतन्त्रको पहरेदारी गर्न सके मात्र यसको शुद्धीकरण सम्भव छ ।
अबको सुधारको मार्गचित्रमा सबैभन्दा पहिलो र अनिवार्य कदम भनेको ’निर्वाचन प्रणालीमा व्यापक सुधार’ हो, जसले पैसा र पहुँचको बलमा चुनाव जित्ने विकृत परिपाटीलाई सधैका लागि अन्त्य गरोस्। दोस्रो, राजनीतिक दलहरूको पूर्ण लोकतान्त्रीकरण, नेतृत्वमा आवधिक परिवर्तन र उनीहरूको आर्थिक स्रोतको सार्वजनिक अडिटिङ हुनुपर्छ। तेस्रो महत्वपूर्ण कुरा, राज्यका स्थायी निकायहरू जस्तै न्यायपालिका, सुरक्षा निकाय र संवैधानिक अंगहरूलाई ’डिपोलिटिसाइज’ (राजनीतिमुक्त) बनाउनु पर्छ। जबसम्म अदालतको बेन्चदेखि विश्वविद्यालयका उपकुलपतिसम्म राजनीतिक भागबण्डाका आधारमा नियुक्त हुन्छन्, तबसम्म लोकतन्त्रको आत्मा कमजोर भइरहन्छ । यसका साथै, अबको लोकतन्त्रले आर्थिक उत्पादन, स्थानीय स्रोतको परिचालन र न्यायोचित वितरणलाई केन्द्रमा राख्नुपर्छ, जसलाई हामी ‘लोकप्रिय लोकतन्त्र’बाट ‘आर्थिक लोकतन्त्र’ तर्फको प्रस्थान भन्न सक्छौं । सुधारको अर्को अनिवार्य पाटो भनेको ‘डिजिटल गभर्नेन्स’ को पूर्ण कार्यान्वयन हो । जब राज्यका सेवाहरूलाई पूर्णतः प्रविधिमा आधारित, पेपरलेस र फेसलेस बनाइन्छ, तब भ्रष्टाचार र बिचौलियाको चलखेल स्वतः अन्त्य भएर जान्छ । यसका लागि जनता आफैं पनि प्रविधिमैत्री बन्न र लोकतन्त्रको सुरक्षाका लागि सँधै जागरुक रहन जरुरी छ । लोकतन्त्र कुनै स्थिर जड वस्तु होइन, यो त एउटा जीवित र गतिशील प्रणाली हो, जसलाई समयको माग अनुसार निरन्तर परिमार्जन र सम्बद्र्धन गरिरहनु पर्छ ।
यदि हामीले व्यवस्थाको सुधार, पात्रमा व्यक्तिगत इमानदारिता र आम जनतामा सामूहिक जिम्मेवारीबोधको भावना विकास गर्न सक्यौ भने, ०८३ पछिको दशक नेपालको वास्तविक आर्थिक समृद्धिको स्वर्ण दशक बन्न सक्छ । लोकतन्त्रलाई सडकको नारा र पर्चाबाट उठाएर प्रत्येक नागरिकको जीवनस्तर र सम्मानसम्म पु¥याउनु नै हामी सबैको साझा र अन्तिम लक्ष्य हुनुपर्छ ।
निष्कर्षमा, २०६३ सालको वैशाख ११ गतेले जुन राजनीतिक स्वतन्त्रताको ढोका खोलेको थियो, त्यसको पूर्णता केवल अधिकारको प्राप्तिमा मात्र होइन, बरु आर्थिक समृद्धि र सामाजिक न्यायको प्राप्तिमा मात्र सम्भव छ । २० वर्षको यो उथलपुथलपूर्ण अवधिले हामीलाई एउटा ठूलो पाठ सिकाएको छ –केवल शासन व्यवस्था परिवर्तन गरेर मात्र पुग्दैन, जनताको अवस्था परिवर्तन हुन नीति र नियत दुवै सफा हुन अनिवार्य छ । लोकतन्त्रमा कहिलेकाही संकट र चुनौतीहरू आउँछन्, तर ती सबैको समाधान लोकतान्त्रिक विधि र संवादमै खोजिनुपर्छ ।
नयाँ पुस्ताको ऊर्जावान आगमनले जर्जर बनेको राजनीतिक प्रणालीमा नयाँ प्राण भर्ने बलियो आशा जगाएको छ । अबको साझा मार्गचित्र भनेको संघीयतालाई बलियो बनाउँदै, सुशासनलाई संस्थागत गर्दै र उत्पादनमुखी अर्थतन्त्रको माध्यमबाट मुलुकलाई समृद्ध बनाउनु हो । नेपाली लोकतन्त्रको उज्वल भविष्य अब राजनीतिक नेतृत्वको दृढ नियत, नागरिकको निरन्तर सक्रियता र राज्यका संस्थाहरूको निष्पक्षतामा निर्भर छ । हामी सबैको सामूहिक प्रतिबद्धताले मात्र नेपालको लोकतन्त्रलाई विश्वकै एउटा गौरवशाली र सफल लोकतान्त्रिक नमूना बनाउन सम्भव छ ।
Play exciting pokies and claim big bonuses at Fair Go Casino, a top choice for Australian online gaming enthusiasts.
Experience thrilling wins and fast payouts at Hellspin Casino, offering Australian players a secure and fun gaming environment.
KingBilly Casino delivers premium pokies, engaging promotions, and reliable payouts for Australian online casino fans.
Enjoy top-quality pokies and table games at Ricky Casino Australia, a safe and entertaining platform for Aussie players.
Discover an exciting selection of pokies and rewarding bonuses at StayCasino, designed specifically for Australian online players.
Sweet wins and immersive gameplay await at Big Candy Casino, offering Australian players a fun-filled online casino adventure.
Play popular pokies and enjoy fast withdrawals at JooCasino, providing Australian players with a reliable online casino experience.
Level Up Casino offers exciting slots, generous bonuses, and a secure platform for Australian players seeking big wins.