नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक रेशम चौधरीले पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठलाई पार्टीमा उत्पन्न विवादबारे केन्द्रीय समितिमा उपस्थित भई स्पष्ट धारणा दिन आग्रह गरेका छन्।
सामाजिक सञ्जालमार्फत भिडियो सन्देश जारी गर्दै चौधरीले श्रेष्ठमाथि लागेको घुस प्रकरणबारे पार्टी कार्यकर्ता र आमजनतामा अन्योल बढेकाले स्पष्ट जवाफ आवश्यक भएको बताएका हुन्। कास्कीको लिची बगैंचाको जग्गा हत्याउने प्रकरणमा जोडिएपछि श्रेष्ठ बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा भ्वाइस टेस्टका लागि उपस्थित भएकी थिइन्।
चौधरीका अनुसार, सो घटनापछि केन्द्रीय समिति बैठक बोलाइएको हो। उनले बैठक आफूले होइन, अन्य सदस्यहरूले बोलाएको उल्लेख गर्दै अध्यक्ष श्रेष्ठले त्यसलाई वैधानिकता नदिएर पन्छिन नमिल्ने बताएका छन्।
उनले भने, “उहाँ अध्यक्ष हुनुहुन्छ भने, हरेक सदस्य उहाँकै परिवार हो। प्रतिशोधको भावना राख्नुहुँदैन। उत्पन्न परिस्थितिको कारण तपाईं नै हुनुहुन्छ। बैठकमा आउनुहोस् र सत्य कुरा राख्नुहोस्। त्यसपछि मात्र पार्टीले आफ्नो आधिकारिक धारणा बनाउन सक्छ।”
रेशमले पार्टीलाई कसैले बन्धक वा निरंकुश बनाउने प्रयास गर्नु नहुने र त्यसको समाधान अध्यक्षबाटै हुनुपर्ने बताएका छन्। “केन्द्रीय समितिमा जवाफ दिनुहोस्। एउटै मुखले बोलेर हुँदैन, खुला बैठकमै कुरा राख्नुपर्छ,” उनले जोड दिए।
पार्टीबारे उठेका प्रश्नहरूले आफूलाई ठूलो चोट पुर्याएको उल्लेख गर्दै उनले संगठन निर्माणमा लागिरहे पनि अपेक्षित उपलब्धि देखिएको छैन भन्ने धारणा राखेका छन्। “विरुवा रोपिन्छ, तर भोलि ठुट्टै पारिन्छ,” भन्दै उनले नेतृत्वप्रति संकेत गरे।
रेशमले आफू संरक्षकको भूमिकामा भए पनि सक्रिय भूमिकाबाट टाढा राखिएको गुनासो गरे। साथै, अन्य नेताहरूलाई सामाजिक सञ्जालमार्फत टिप्पणी गर्ने प्रवृत्तिमा संलग्न नभई पार्टी बैठकमा आफ्नो कुरा राख्न पनि आग्रह गरेका छन्।
उनको भनाइमा, “केन्द्रीय सदस्यजस्तो जिम्मेवार पदमा बसेका व्यक्तिहरूले सामाजिक सञ्जालमा प्रतिक्रिया दिनु आफैंमा अनुचित हो। त्यसले तपाईंकै ओझ घटाउँछ।”
