नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीले पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठप्रति गम्भीर असन्तुष्टि जनाउँदै सार्वजनिक जवाफ माग गरेका छन्। उनले अध्यक्ष श्रेष्ठले आफूमाथि उठेका मुद्दा वा आरोपहरूमाथि स्पष्ट धारणा राख्नुपर्ने बताएका छन्।
साथै उनले केन्द्रीय महासचिवले साउन ९ र १० गतेका लागि बोलाएको पार्टीको केन्द्रीय समिति बैठकबारे अध्यक्षले “मैले बोलाएको होइन” भनेर पन्छिन नमिल्ने बताएका छन्।
बिहीबार साँझ सार्वजनिक भिडियो सन्देशमार्फत चौधरीले आफूले स्थापना गरेको पार्टीलाई पटकपटक कमजोर बनाउने प्रयास भएको गुनासो गरे। उनले भने, “आज बिरुवा रोपिन्छ, केही दिनमै काटिन्छ, तर म रोपिरहन्छु।”
चौधरीले पार्टी संरक्षकको भूमिकामा राखिएपनि व्यवहारमा थन्क्याउने र आफूलाई निष्क्रिय बनाउने कोसिस भएको आरोप लगाए।
उनले पार्टीभित्र समस्या भए बैठकमै आएर छलफल गर्न आग्रह गरे। सामाजिक सञ्जालमार्फत असन्तुष्टि पोख्नुले स्वयम् नेतृत्वको मर्यादा घटाउने बताए। “पार्टीभित्र ‘जोइपोइ’ जस्तो सम्बन्ध बनाउने कोसिस हुँदैछ, वैधानिकता भन्नेले आफैँ परिचालित व्यक्ति होइनन् र?” भन्ने प्रश्न पनि उठाए।
अध्यक्ष श्रेष्ठले बैठकबारे जिम्मेवारीबाट उम्कन नमिल्ने स्पष्ट पार्दै चौधरीले भने, “प्रतिशोधको भावना गलत हो। पार्टीलाई निरङ्कुश बनाउन पाइँदैन। मुद्दा लागेको छ, त्यसको जवाफ चाहिन्छ। तपाईंले नै समाधानको बाटो देखाउनुहुन्छ।”
यसरी चौधरीले नेतृत्वमा जवाफदेहीता माग गर्दै पार्टीभित्रको आन्तरिक विवाद खुल्ला रुपमा सार्वजनिक गरेका छन्।
