नेकपा एकीकृत समाजवादीका सांसद कृष्ण कुमार श्रेष्ठ (किसान)ले मधेशमा खानेपानी र सिंचाइको गम्भीर अभाव रहेको भन्दै संघीय सरकारको उदासिनताप्रति कडा असन्तुष्टि जनाएका छन्। बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद श्रेष्ठले मधेशमा पानीको हाहाकार भइरहँदा संघीय सरकार मूकदर्शक बनेको आरोप लगाए।
उनले मधेशलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेबापत धन्यवाद ज्ञापन गरे पनि केवल घोषणाले राज्यको दायित्व पूरा नहुने स्पष्ट पारे। उनले भने, “संकटग्रस्त क्षेत्र घोषणा गरेर मात्र सरकारको काम सकिँदैन, गम्भीर रुपमा राहत र समाधानका उपाय चालिनु जरुरी छ।”
श्रेष्ठका अनुसार पिउने पानी र सिंचाइ अभावले मधेशका बासिन्दा हैरान छन् तर सरकार आवश्यक कदम चाल्न असफल देखिएको छ। पानी वितरणका नाममा राजनीतिक चलखेल भइरहेको आरोप लगाउँदै उनले डिप बोरिङ योजनालाई पनि राजनीतिको रंग दिएको बताए।
“छिमेकी जिल्लाका मन्त्रीहरूका निर्वाचन क्षेत्रलाई प्राथमिकता दिँदै बाँकी जिल्लालाई बेवास्ता गर्नु असमान व्यवहार हो,” उनले भने। पर्सा जिल्लामा मात्र नेपाली सेनाको ८ वटा दमकलबाट पानी वितरण भइरहेको तर बारा, रौतहट लगायतका जिल्लामा सेवा नपुगेको उनले बताए।
उनले पिउने पानीजस्तो संवेदनशील विषयमा समेत राजनीति गर्न खोज्ने मन्त्रीहरूप्रति खेद प्रकट गरे। खानेपानी मन्त्रालयले समस्या लिएर जाँदा अर्थ मन्त्रालयले बजेट स्वीकृत नगरेको र विपद् प्राधिकरणले समेत बजेट नभएको बताउने गरेको भन्दै उनले सरकारको गम्भीरता माथि प्रश्न उठाए।
“यस्तो अवस्थामा संकटग्रस्त क्षेत्र घोषणा गरेर मात्रै के पुग्छ? सरकारले ठोस निर्णय नलिए मधेशमा अवस्था भयावह हुन सक्छ,” श्रेष्ठले चेतावनी दिए। सरकारको बजेट कुनै मन्त्रीको मात्रै हैन, सबै नेपालीको हो भन्ने सन्देश उनले सभामार्फत दिएका छन्।
