नेपाली कांग्रेसका सांसद हृदयराम थानीले अख्तियारसम्बन्धी विधेयकलाई संसदीय प्रक्रियामै रोकिएको भन्दै गम्भीर आपत्ति जनाएका छन्। प्रतिनिधि सभाको बिहीबारको बैठकमा बोल्दै उनले विधेयक उपसमितिबाट पारित भएर मूल समितिमा पुगे पनि त्यसबारे कुनै छलफल नभएकोप्रति असन्तुष्टि व्यक्त गरे।
थानीका अनुसार गत पुस ४ गते उपसमितिले पारित गरेको विधेयक अहिलेसम्म राज्य व्यवस्था तथा सुशासन समितिमा रोकिएको छ। उनले प्रश्न गरे, “साथै ल्याइएको भ्रष्टाचारसम्बन्धी विधेयक कानुनको रूप लिन सफल भइसक्दा अख्तियारसम्बन्धी विधेयक किन अलपत्र पारिएको हो?”
उनको भनाइमा मुलुकमा देखिएका ठूला भ्रष्टाचारहरू प्रायः नीतिगत निर्णयको नाममा भइरहेका छन्। यस्ता विषयहरू अख्तियारको कार्यक्षेत्रभित्र पर्नुपर्ने उनको तर्क छ। थानीले यो विधेयक रोकिएको कारण नीतिगत निर्णयको व्याख्या नहुँनु हो भने त्यो देशको हित विपरीत हुने चेतावनी पनि दिए।
सांसद थानीले सभामुखलाई आग्रह गर्दै विधेयकमाथि चाँडो छलफल अघि बढाउन सरकारलाई निर्देशन (रुलिङ) दिन अनुरोध गरे। “यो विधेयक अब थन्क्याएर बस्ने विषय होइन,” उनले भने, “संसदको गरिमा जोगाउन आवश्यक कदम चालिनुपर्छ।”
