नेकपा एमालेका सचिव तथा सांसद योगेश भट्टराईले राजनीतिक लाभको लागि नयाँ विमानस्थल निर्माण गरिनु अनुचित भएको स्पष्ट पारेका छन्।
बिहीबार बसेको प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा उनले नेपालमा हालसम्म ५५ वटा विमानस्थल निर्माण भइसकेको र तिनमध्ये नियमित रूपमा सञ्चालनमा रहेका केवल ३२ वटा मात्र रहेको उल्लेख गरे।
उनका अनुसार सरकारले नीति तथा कार्यक्रममा अझै नयाँ विमानस्थल निर्माणको प्रस्ताव राख्नु अनुचित छ। उनले यो प्रवृत्तिलाई “फेसन” को रूपमा व्याख्या गर्दै राजनीतिक दबाबका कारण नेताको भोट बढाउने उद्देश्यले अब नयाँ विमानस्थल बनाइनु नहुने बताए।
सांसद भट्टराईले हवाई सुरक्षाको सवालमा पनि चिन्ता व्यक्त गरे। उनले १९४९ मा नेपालमा पहिलो पटक हवाई सेवा सुरु भएको स्मरण गराउँदै हालसम्म १०८ वटा हवाई दुर्घटनामा ९५९ जनाको ज्यान गएको तथ्य प्रस्तुत गरे।
उनले प्रश्न गरे, “हामी किन कानुन बनाइरहेका छौँ भनेको यी दुर्घटनाहरूलाई कसरी न्यूनतम बनाउने भन्ने हो।” त्यसका लागि प्राविधिक, मानवीय र व्यवस्थापकीय त्रुटिहरू पहिचान गरी समाधानमा ध्यान दिनुपर्ने उनको भनाइ छ।
उनले विशेष रूपमा निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई मात्र प्राथमिकता दिनुपर्ने धारणा राखे। नयाँ निर्माणको सट्टा हाल रहेका विमानस्थलहरूको क्षमता र सेवा विस्तार गर्नुपर्नेमा उनले जोड दिए।
उनको भनाइमा, अबको सोच त्यस्तो हुनुपर्छ, जसले दीर्घकालीन रूपमा राष्ट्रलाई फाइदा पुर्याओस्, न कि नेताको व्यक्तिगत स्वार्थ पूरा गरोस्।
