नेकपा (एमाले) की सांसद विद्या भट्टराईले सञ्चार क्षेत्रलाई सरकारअन्तर्गत नराखी संसद्अन्तर्गत राख्नुपर्ने धारणा सार्वजनिक गरेकी छन्।
प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको आइतबार बसेको बैठकमा मिडिया काउन्सिल विधेयकमाथिको सैद्धान्तिक छलफलमा बोल्दै उनले मिडियामाथि सरकारको प्रत्यक्ष प्रभाव पर्ने अवस्था आउन नदिन संसद्अन्तर्गत राखिनुपर्ने आवश्यकता औंल्याइन्।
उनले नागरिकलाई सूचना पाउने अधिकार सुनिश्चित गर्न मिडिया काउन्सिल विधेयक अगाडि बढ्नुपर्नेमा जोड दिँदै भनिन्, “जबसम्म सञ्चार क्षेत्र स्वतन्त्र र निष्पक्ष हुँदैन, लोकतन्त्रको सही व्याख्या गर्न सकिँदैन।”
भट्टराईले सञ्चार क्षेत्रलाई नियमनको नाममा दबाब दिने काम नगर्न चेतावनी दिँदै मिडियालाई स्वतन्त्र राखेर प्रोत्साहन गर्नुपर्ने बताइन्।
उनले नेपाल पत्रकार महासंघलाई पनि सरोकारवाला निकायको रूपमा मात्रै नभई पत्रकारको हकहितमा काम गर्ने संस्थाको रूपमा स्थापित गर्नुपर्नेमा जोड दिइन्।
