प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिशूली नदीमा आएको बाढीका कारण प्रभावित क्षेत्रहरूमा उद्धार तथा राहत कार्यलाई सरकार युद्धस्तरमा लिएर अघि बढिरहेको जानकारी दिएका छन्।
तिब्बत सीमावर्ती क्षेत्रमा भएको अविरल वर्षाका कारण आएको बाढीले जनधनमा क्षति पुर्याएपछि प्रधानमन्त्री ओलीले अत्यावश्यक बाहेक आफ्ना अन्य सबै निर्धारित कार्यक्रमहरू स्थगित गर्दै उद्धार प्रयासको प्रत्यक्ष निगरानी गरिरहेको बताएका छन्।
सामाजिक सञ्जालमार्फत जानकारी दिँदै प्रधानमन्त्री ओलीले सुरक्षानिकायहरूसँग नियमित सम्पर्कमा रही बाढी प्रभावित क्षेत्रमा आपतकालीन सहायता पुर्याउन समन्वय भइरहेको उल्लेख गरेका छन्। उनले उद्धार प्रयासमा कुनै कमी नहोस् भनी सम्बन्धित निकायलाई आवश्यक निर्देशन दिइसकेको जानकारी पनि दिएका छन्।
‘बाढीले केही नागरिकको ज्यान गएको र केही अझै बेपत्ता रहेका दुःखद खबरहरू आएका छन्। ठूलो भौतिक क्षति भएको छ,’ प्रधानमन्त्री ओलीले लेखेका छन्। उनले ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली अर्पण गर्दै पीडित परिवारप्रति गहिरो समवेदना प्रकट गरेका छन्।
साथै, उद्धार र राहत कार्यमा सबै पक्षको सहयोग जरुरी रहेको भन्दै प्रधानमन्त्री ओलीले एकताबद्ध प्रयासमार्फत विपद् व्यवस्थापन गर्न सबैलाई आग्रह गरेका छन्।
