पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट चीनको छेन्दुतर्फ सिचुवान एयरलाइन्सले गर्दै आएको व्यावसायिक चार्टर्ड उडान अस्थायी रूपमा रोकिएको छ।
पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यका अनुसार वर्षायामका कारण हाल उडान स्थगित गरिएको हो। उनले आगामी सेप्टेम्बरदेखि सोही एयरलाइन्सले पोखराबाट छेन्दुतर्फ नियमित उडान संचालन गर्ने जानकारी दिए।
सिचुवान एयरलाइन्सले यसअघि १० वटा चार्टर्ड उडानमार्फत १,२३५ जना चिनियाँ यात्रु पोखरा ल्याउने योजना बनाएको थियो। तर, पोखरा क्षेत्रीय विमानस्थलका अनुसार ८ वटा उडान मात्र सम्पन्न भएका छन्। ती उडानमार्फत ७९६ चिनियाँ यात्रु पोखरा आएका थिए भने ८०२ नेपाली यात्रु चीन गएका थिए।
उक्त उडान ‘चाइना ट्राभल कम्पनी (सीटीसी)’ ले व्यवस्थापन गरेको हो। सीटीसीले पोखरा महानगर, गण्डकी प्रदेश र पोखराका पर्यटन व्यवसायीहरूसँग सम्झौता गर्दै मार्च १८ देखि सातामा एकपटक उडान गर्ने योजना ल्याएको थियो। सम्झौताअनुसार एयरबस ए–३१९ विमान पोखरा ओर्लने, र फर्किने क्रममा कम्तीमा तीन उडानमा नेपाली यात्रु हुनुपर्ने उल्लेख थियो।
उक्त सम्झौता काठमाडौंस्थित चिनियाँ दूतावासको सहकार्यमा सम्पन्न भएको थियो। सम्झौतापछि मेयरसहित करिब ४ सयभन्दा बढी नेपाली टोली चीन भ्रमणमा गएको थियो। भ्रमणको प्याकेज शुल्क एक लाख २७ हजार रुपैयाँ तोकिएको थियो, जसअन्तर्गत नेपाली यात्रुहरू चीन गएका थिए।
यद्यपि, चीनतर्फबाट भनिएअनुसारको संख्यामा पर्यटक नआएको गुनासो व्यवसायीहरूले गरेका छन्। पोखरा भ्रमण वर्ष २०२५ का संयोजक गोपीबहादुर भट्टराईका अनुसार नेपालबाट अपेक्षाभन्दा बढी पर्यटक चीन गएका भए पनि उताबाट त्यति संख्यामा पर्यटक नआउनुले चिन्ताजनक अवस्था देखिएको छ।
नेपाल पर्यटन बोर्डको तथ्यांकअनुसार सन् २०२५ को जनवरीदेखि जुनसम्म झन्डै ५ लाख ७८ हजार पर्यटक नेपाल आएका छन्, जसमा सबैभन्दा धेरै भारत (१ लाख ४८ हजार), अमेरिका (५८ हजार) र चीन (५२ हजार ५ सय) बाट आएका छन्।
पर्यटन व्यवसायीहरूले नेपालले भारततर्फ पर्यटन प्रवर्द्धन नगरे पनि भारतीय पर्यटकले अफ–सिजनमा समेत पर्यटन क्षेत्रलाई धानेको बताउँदै अब भारतमा पनि प्रचार अभियान आवश्यक भएको माग गरेका छन्।
चीनकै ऋण र प्रविधिबाट बनेको पोखरा विमानस्थल २०७९ पुसदेखि सञ्चालनमा आए पनि अहिलेसम्म नियमित अन्तर्राष्ट्रिय उडान सुरु हुन सकेको छैन।
नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले गत पुसमा व्यवसायीहरूलाई आफैँ लगानी गरेर चार्टर्ड उडान सञ्चालन गर्न सुझाव दिएका थिए। सोही कारण व्यवसायीहरूले चीन भ्रमण अभियान सुरु गरेका थिए।
चीनले नेपाल भ्रमण वर्ष घोषणा गरेको, पोखरासँग भगिनी सम्बन्ध राख्ने सहरहरूको संलग्नता, चिनियाँ गतिविधि बढ्दै गएका कारण चिनियाँ पर्यटकको आगमनमा ठूलो आशा गरिएको भए पनि यथार्थमा त्यो अपेक्षाअनुसार पूरा हुन सकेको छैन।
नाट्टा गण्डकीका अध्यक्ष किशोर दाहालका अनुसार पोखराबाट छेन्दुतर्फ चार्टर्ड उडान भएको भए पनि त्यसले चिनियाँ पक्षलाई मात्र लाभ पुगेको र अब सेप्टेम्बरदेखि हुने नियमित उडानले पोखराको पर्यटनमा केही राहत दिलाउने अपेक्षा गरिएको छ।