मोरङको रंगेलीमा खैरो हेरोइनको कारोबारमा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। लागुऔषध नियन्त्रण ब्युरोको टोलीले दुई राउण्ड हवाई फायर गरेपछि ती व्यक्तिहरूलाई नियन्त्रणमा लिएको हो।
पक्राउ परेकामध्ये एक जना भारतीय नागरिक ४५ वर्षीया हसिना खातुन रहेको प्रहरीले जनाएको छ। उनले नेपाल ल्याएको ४२५ ग्राम खैरो हेरोइनसहित रंगेली नगरपालिका–८ का ५५ वर्षीय किर्तानन्द ठाकुर र ३८ वर्षीय सुशिल बुढाथोकीलाई पक्राउ गरिएको हो।
प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार खातुन बेच्न ल्याएकी हेरोइन ठाकुर र बुढाथोकी किन्न गएका थिए। लागुऔषध नियन्त्रण ब्युरोबाट प्रहरी निरीक्षक राकेश यादव तथा वरिष्ठ सई बालकृष्ण सञ्जेलको नेतृत्वमा रंगेली क्षेत्रमा केही दिनदेखि अनुसन्धान चलिरहेको थियो।
ब्युरोका एक अधिकारीका अनुसार खातुनको परिवार नै तस्करीमा संलग्न रहेको खुलेको छ। प्रारम्भिक अनुमानमा पुरुष व्यक्ति आउने भनिए पनि खातुन आफैं आइपुगेकी थिइन्। पक्राउको प्रयासका क्रममा उनीहरू भाग्न खोजेपछि प्रहरीले हवाई फायर गरेको थियो।
बरामद गरिएको ४२५ ग्राम खैरो हेरोइन पछिल्लो पाँच वर्षयताकै सबैभन्दा धेरै परिमाणको भएको प्रहरी स्रोतले जनाएको छ। यसअघि एकदेखि तीन सय ग्रामसम्म मात्र बरामद हुने गरेको थियो।
घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीको भनाइ छ।
