असार २ गते बसेको मन्त्रिपरिषद् बैठकका १९ वटा निर्णय सार्वजनिक भएका छन्। बुधबार नियमित पत्रकार सम्मेलनमार्फत सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले ती निर्णयहरूको जानकारी दिएका हुन्।
बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको स्पेन भ्रमण स्वीकृत गरेको छ। साथै, केही मन्त्रीहरूको विदेश भ्रमणलाई समेत स्वीकृति दिइएको छ भने विभिन्न कर्मचारीहरूको सरुवा सम्बन्धी निर्णयहरू पनि पारित भएका छन्।
त्यस्तै, पुल सुधार तथा मर्मत कार्यक्रम (तेस्रो चरण) अन्तर्गत विश्व बैंकबाट प्राप्त हुन लागेका करिब २० अर्ब ७९ करोड रुपैयाँ बराबरको सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय गरिएको छ। त्यसैगरी, दक्षिण कोरियाको सहयोगमा बर्दियामा सञ्चालन हुने समावेशी ग्रामीण विकास परियोजनाका लागि प्राप्त करिब १ अर्ब ८ करोड ८० लाख रुपैयाँ बराबरको अनुदान पनि स्वीकार गरिएको छ।
बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयकी सहसचिव निर्मला अधिकारी भट्टराईलाई सत्य निरूपण तथा मेलमिलाप आयोगको सचिव पदमा कायममुकायम रूपमा नियुक्त गर्ने निर्णय समेत गरेको छ।

