ललितपुरमा सडक मर्मतको क्रममा विजुलीको पोल ढल्दा एक व्यक्तिको ज्यान गएको छ।
ललितपुर प्रहरी परिसरका प्रमुख एसएसपी श्यामकृष्ण अधिकारीका अनुसार घटनामा ज्यान गुमाउने व्यक्ति ५५ वर्षीय रमेश खड्गी हुन्, जो सोही क्षेत्रका बासिन्दा थिए।
घटना सडक खन्ने क्रममा भएको हो। बुलडोजर प्रयोग गरी पोल सार्ने प्रयासमा ‘प्रोभिन्स ३–०१–००३ क ६७४२’ नम्बरको जेसीबीले पोल थामिरहेको बेला पोल अचानक खसेको थियो। खड्गी नजिकै उभिएर काम हेर्दै गर्दा सोही पोलको चपेटामा परे।
गम्भीर चोट लागेका उनलाई तत्काल अस्पताल पुर्याइएको भए पनि चिकित्सकले मृत घोषणा गरेका थिए।
घटनापछि स्थानीयबासी आक्रोशित बनेर टिकाभैरव क्षेत्रको थेचोमा टायर बालेर विरोध प्रदर्शन गरेका छन्।
यस घटनालाई लिएर अहिले सतदोबाटो प्रहरी वृत्तमा नेपाल विद्युत प्राधिकरण, निर्माण व्यवसायी तथा पीडित परिवारका प्रतिनिधिबीच छलफल भइरहेको प्रहरीले जनाएको छ।