नेपालका लागि नवनियुक्त केन्याली उच्चायुक्त पिटर मैनामून्यीरीले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका छन्।
उक्त समारोह गत सोमबार राष्ट्रपति कार्यालय, शीतल निवासमा सम्पन्न भएको हो। प्रमाणपत्र बुझाउने कार्यक्रममा नेपालका लागि केन्याका अवैतनिक वाणिज्यदूत चन्द्र टण्डन पनि उपस्थित थिए।
त्यसै दिन उच्चायुक्त मैनामून्यीरीले काठमाडौंको कमलादीस्थित सिटी एक्सप्रेस कम्प्लेक्सको चौथो तलामा स्थापना गरिएको गणतन्त्र केन्याको अवैतनिक दूतावास कार्यालयको उद्घाटन समेत गरे।
नेपालका लागि अवैतनिक वाणिज्यदूत चन्द्र टण्डनको आयोजना रहेको एक विशेष कार्यक्रममा दुवै देशबीच व्यापार विस्तार, सांस्कृतिक आदान–प्रदान तथा विविध क्षेत्रहरूमा आपसी सहकार्य प्रवर्द्धन गर्ने प्रतिबद्धता व्यक्त गरिएको थियो।
चन्द्र टण्डन सिटी एक्सप्रेस मनी ट्रान्सफरका संस्थापक समेत हुन्।
नेपाल र केन्याबीच सन् १९७८ (वि.सं. २०३५) मा कूटनीतिक सम्बन्ध स्थापना भएको हो। त्यसयता दुई मुलुकबीच सौहार्दपूर्ण सम्बन्ध रहँदै आएको छ।