भाटभटेनी समूहले आफ्नो व्यावसायिक विस्तारलाई नयाँ उचाइमा पुर्याउँदै भैरहवामा अत्याधुनिक गार्मेन्ट उद्योग निर्माणको प्रक्रिया सुरु गरेको छ।
समूहका अध्यक्ष मीनबहादुर गुरुङ र व्यवसायी उमेश श्रेष्ठसहितको टोलीले बुधबार भूमि पूजासहित उद्योगको शिलान्यास गरेका छन्।
भाटभटेनी समूहका प्रमुख सञ्चालन अधिकृत (सीओओ) पानु पौडेलका अनुसार, यो परियोजना नेपालको औद्योगिक पूर्वाधारमा सकारात्मक सन्देश दिने महत्त्वपूर्ण पहल हो।
उद्योग सञ्चालनमा आएपछि करिब १,२०० जनालाई प्रत्यक्ष रोजगारी दिने लक्ष्य लिइएको छ। यसले स्थानीय जनशक्ति परिचालन गर्दै भैरहवा क्षेत्रको आर्थिक विकासमा उल्लेखनीय योगदान पुर्याउने अपेक्षा गरिएको छ।
गुणस्तरीय उत्पादन सुनिश्चित गर्न उद्योगमा अन्तर्राष्ट्रिय मापदण्डअनुसारका अत्याधुनिक मेसिन, स्वास्थ्य सुरक्षा मापदण्ड, स्वच्छ वातावरणीय प्रवन्ध, १ मेगावाटभन्दा बढीको सौर्य ऊर्जा प्रणाली तथा ब्याट्री भण्डारण सुविधा जडान गरिने छ।
कारखानाले विशेषतः भाटभटेनी स्टोरहरू तथा अन्तर्राष्ट्रिय बजारका लागि तयारी पोशाक उत्पादन गर्ने लक्ष्य राखेको छ।
पौडेलका अनुसार, “यो उद्योगले भाटभटेनी समूहको स्थानीय उत्पादन प्रवर्द्धन, बजारीकरण र रोजगारी वृद्धिका साथै नेपालमा औद्योगिक सुधारका संकेतसमेत प्रदान गर्नेछ।”
यो परियोजना व्यापारिक विविधीकरणसँगै दीर्घकालीन औद्योगिक विकास र आत्मनिर्भर उत्पादनतर्फको यात्रा बन्ने अपेक्षा गरिएको छ।

