×

दक्षिण कोरियामा ली जे म्युङको जित, नयाँ राष्ट्रपति बनेपछि उत्तर कोरियासँग सम्बन्ध सुधारको प्रतिबद्धता

खालीपाना न्युजडेस्क | ८ महिना अगाडि

दक्षिण कोरियाको आम चुनावमा डेमोक्रेटिक पार्टीका नेता ली जे म्युङ विजयी भएका छन्। ९० प्रतिशत मतगणना सम्पन्न हुँदा उनले ४८ प्रतिशत मत प्राप्त गर्दै अग्रता कायम गरेका थिए। यससँगै ली जे म्युङ दक्षिण कोरियाका नयाँ राष्ट्रपतिमा निर्वाचित भएका हुन्।

निर्वाचनपछि पहिलो सम्बोधन गर्दै राष्ट्रपति लीले उत्तर कोरियासँगको सम्बन्ध सुधार गर्न आफ्नो सरकार प्रतिबद्ध रहने बताएका छन्। कोरियाली प्रायद्वीपमा स्थायित्व र शान्ति स्थापना गर्न उत्तर कोरियासँग संवाद र सहकार्यको बाटो रोजिने उनको भनाइ थियो। तर उत्तेजक गतिविधि जारी रहे अमेरिकी सहयोगमा कडा जवाफ दिने चेतावनी पनि उनले दिएका छन्। साथै, जापान र अमेरिकासँगको द्विपक्षीय सम्बन्धलाई थप मजबुत बनाउने योजना पनि उनले सार्वजनिक गरेका छन्।

यो निर्वाचन देशमा उत्पन्न संवैधानिक संकटपछि भएको हो। पूर्वराष्ट्रपति युन सुक योलले आकस्मिक रूपमा मार्शल ल (सैन्य शासन) लगाउने आदेश दिएपछि तीव्र विरोध चर्किएको थियो। ली जे म्युङ त्यस विरोधमा अग्रपंक्तिमा थिए। अहिले उनको जितसँगै त्यो संकटको अन्त्य भएको छ।

६० वर्षीय ली यसअघि दुई पटक राष्ट्रपति पदका उम्मेदवार भइसकेका थिए। सन् २०२२ मा उनी युन सुक योलसँगको प्रतिस्पर्धामा पराजित भएका थिए। ग्योङ्गी प्रान्तका पूर्व गभर्नर र सेओङनाम नगरपालिकाका मेयर रहेका ली जनतामाझ आफ्नो ज्वलन्त भाषणशैली र आर्थिक सुधारका एजेन्डाले चिनिन्छन्।

यद्यपि, उनका आलोचकहरू उनलाई विभाजनकारी नेता भन्दै आलोचना गर्छन्। हाल लीविरुद्ध पाँचवटा आपराधिक मुद्दा दर्ता छन्। तर, दक्षिण कोरियाको कानूनअनुसार राष्ट्रपति बनेपछि ती मुद्दा स्वतः अन्त्य हुनेछन्।

लीले राष्ट्रपतिको हैसियतमा मुलुकको समग्र आर्थिक अवस्था सुधार गर्ने अठोट व्यक्त गरेका छन्। अब उनका योजनाहरू कत्तिको सफल हुन्छन् भन्ने विषय भने समयले बताउनेछ।

Facebook Comments Box
0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x