२० जेठ, काठमाडौं ।
ललितपुरको जावलाखेलस्थित सदर चिडियाखानामा रहेका दुई जनाले तीन दिनसम्म योजना बनाएर दुर्लभ रेड पान्डा चोर्न खोजे पनि अन्ततः प्रहरीको फन्दामा परेका छन्।
धादिङका २१ वर्षीय कृष्ण गुरुङ र भारत बिहारका २६ वर्षीय मोहमद तफिक हाल ललितपुर प्रहरी परिसरको हिरासतमा छन्। उनीहरूसँग संलग्न भनिएका अन्य दुई भारतीय भने अझै फरार छन्। प्रहरीले उनीहरूको पहिचान खुलेको जनाएको छ।
ती समूहले पहिलो र दोस्रो दिन चिडियाखाना घुम्ने नाउँमा रेकी गरे। झ्याल, ढोका, सीसीटीभीको कभरेज लगायत सबै कुरा नियालेर योजना बनाएको पत्ता लागेको छ। तेस्रो दिन ३० वैशाखमा उनीहरू पुनः टिकट काटेर चिडियाखानामा छिरे र क्यान्टिनमा लुकेर रात पर्खिए।
रात परेपछि उनीहरूले दुर्लभ रेड पान्डालाई नियन्त्रणमा लिएर झोलामा हाले। तर झोलाभित्रको रेड पान्डाले अचानक कराउन थाल्यो। त्यही आवाजले कर्मचारीको ध्यान खिच्यो, जसपछि डरले उनीहरूले रेड पान्डा रहेको झोला निगालोघारीमा फ्यालेर फरार भए।
प्रहरीका अनुसार, चिडियाखानाको मुख्य गेट राति १० बजे मात्र बन्द हुने भएकाले उनीहरू त्यही गेटबाट भागेका थिए।
घटनास्थलबाट रेड पान्डाको रौं अड्किएको झोला, पेचकस, जुत्ताजोडा लगायतका प्रमाणहरू प्रहरीले बरामद गर्यो। सीसीटीभी फुटेजको आधारमा अनुसन्धान अघि बढाइएपछि आरोपीहरू स्वयम्भूबाट पक्राउ परे। पक्राउ परेका तफिक स्वयम्भूमै चराचुरुङ्गी बेच्ने कार्यमा संलग्न रहेको पाइएको छ।
रेड पान्डाको कराउने आवाजले नै उनीहरूको चोरी योजना भत्काएको ललितपुरका एसएसपी श्यामकृष्ण अधिकारीले बताएका छन्। उनका अनुसार, तीन दिनको योजनाबद्ध रेकी, रातमा क्यान्टिनभित्र लुकेर बस्ने रणनीति, सबै प्रयास त्यत्तिकैमा सकियो।
प्रहरीले फरार रहेका अन्य दुई भारतीयको खोजी जारी रहेको र चाँडै उनीहरूलाई पनि नियन्त्रणमा लिने विश्वास व्यक्त गरेको छ।