१८ जेठ, विराटनगर ।
नेपाली कांग्रेस मोरङका सभापति तथा प्रतिनिधिसभा सदस्य डिगबहादुर लिम्बू र संविधानसभा सदस्य उषा गुरुङ वैवाहिक जीवनमा बाँधिएका छन्। दुवै जनाले करिब डेढ महिनाअघि विवाह गरेका हुन्।
यो दम्पतीको विवाह दोस्रो पटकको हो। विवाहबारे औपचारिक रूपमा कुनै जानकारी सार्वजनिक गरिएको थिएन। तर केही दिनअघि उषा गुरुङले सामाजिक सञ्जालमार्फत “मेरो संसार” भन्दै लिम्बुसँगको तस्बिर साझा गरेपछि यो समाचार बाहिरिएको हो।
पूर्व युवा तथा खेलकुद मन्त्रीसमेत रहेका डिगबहादुर लिम्बू मोरङ क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्य छन्। उनकी पहिलो पत्नी गंगामाया लिम्बूको २०८० साल पुस २६ गते क्यान्सरका कारण निधन भएको थियो। डिगबहादुरका एक छोरा र एक छोरी छन्।
उता, संविधानसभा सदस्य उषा गुरुङको पनि अघिल्लो वैवाहिक सम्बन्ध विच्छेदमा टुंगिएको थियो। उनी नेपाली कांग्रेसबाट २०६४ सालको संविधानसभामा प्रतिनिधित्व गरेकी थिइन्।