गण्डकी प्रदेश सरकारले राइड सेयरिङ र सेल्फ ड्राइभ सेवा सञ्चालन तथा नियमन गर्ने नियमावली ल्याएको विरोधमा सार्वजनिक यातायात व्यवसायीहरूले काठमाडौंमा विरोध प्रदर्शन गरेका छन्।
देशव्यापी आन्दोलनको घोषणा गरिसकेका व्यवसायीहरूले आइतबार दिउँसो माइतीघरदेखि बानेश्वर सडकसम्म प्रदर्शन गर्दै आक्रोश पोखेका हुन्।
दुई पांग्रे तथा चार पांग्रे निजी सवारीसाधनलाई यात्रु ओसारपसारका लागि प्रयोग गर्न दिने निर्णयले आफ्नो व्यवसाय नै धरापमा पर्ने भन्दै व्यवसायीहरू असन्तुष्ट बनेका छन्।
उनीहरूका अनुसार राइड सेयरिङ सेवाले सार्वजनिक यातायात क्षेत्रमा भइरहेको ठूलो लगानी खतरामा परेको छ। यही असन्तुष्टिको रूपमा शुक्रबार गण्डकी प्रदेशमा यातायात सेवा बन्द गरिएको थियो भने त्यसको निरन्तरता स्वरूप काठमाडौंमा प्रदर्शन गरिएको हो।
व्यवसायीहरूले सरकारसँग नियमावली फिर्ता लिन माग गर्दै राइड सेयरिङले अस्थायी तथा अव्यवस्थित सेवा प्रवाह गरिरहेको आरोप समेत लगाएका छन्।
अबको दिनमा पनि निरन्तर आन्दोलनका कार्यक्रम अघि बढाउने चेतावनी उनीहरूले दिएका छन्।