नेपालमा सुर्तीजन्य पदार्थको नियन्त्रणका लागि विभिन्न कानुनी प्रयासहरू गरिए तापनि सार्वजनिक स्थानमा धुम्रपान रोक्न अझै कठिनाइ भोगिँदै आएको छ। विशेषगरी हुक्का र भेपजस्ता आधुनिक प्रवृत्तिहरूमा युवा पुस्ताको आकर्षण बढ्दो देखिँदैछ, जुन स्वास्थ्यका लागि अत्यन्तै हानिकारक मानिन्छ।
राज्यले सुर्तीजन्य पदार्थको विज्ञापनमा पूर्ण प्रतिबन्ध लगाएको छ, जुन प्रशंसायोग्य कदम हो। यस्तै, सुर्तीका बट्टामा चेतावनी दिने तस्बिर अनिवार्य गर्ने कानुन पनि ल्याइएको छ। तर, यी प्रयासहरू व्यवहारमा कत्तिको प्रभावकारी भएका छन् भन्ने कुरामा अझै प्रश्न उठ्छ। मानिसहरूले ती चेतावनीसहितका बट्टाहरू लुकाउने, फाल्ने, वा अर्को भाँडामा हाल्ने जस्ता उपायहरू अपनाइरहेका छन्।
यसबाहेक, सार्वजनिक स्थानमा धुम्रपान गर्नेहरूलाई रोक्न राज्य अझै सफल हुन सकेको छैन। उदाहरणस्वरूप, वीर अस्पतालजस्तो ठाउँमा समेत चुरोट तानिरहेका दृश्यहरू देखिन्छन्। सार्वजनिक स्थानमा धुम्रपान गर्नेहरूमाथि हाल १०० रुपैयाँ मात्र जरिवाना तोकिएको छ, जुन निकै न्यून छ। यो रकम बढाएर ५ हजार रुपैयाँ पुर्याउन सकेमा नियन्त्रणमा टेवा पुग्ने विश्वास गर्न सकिन्छ।
सबैभन्दा डरलाग्दो अवस्था भने युवापुस्तामा हुक्का र इलेक्ट्रोनिक चुरोट (भेप) को मोह बढ्नु हो। यी पदार्थमा अझै खतरनाक रासायनिक तत्त्वहरू पाइने भएकाले चुरोटभन्दा बढी हानिकारक मानिन्छन्। दुर्भाग्यवश, यस्ता वस्तुहरू खुलेआम विक्री भइरहेको छ र रेस्टुरेन्टजस्ता स्थानहरूमा युवाहरू जमघट गरी तान्ने प्रवृत्ति व्यापक हुँदै गएको छ।
युवाहरूको स्वास्थ्यमा अहिले परेको असर आउँदा २०–३० वर्षपछि भयावह रूपमा देखिने सम्भावना छ। यो नकारात्मक असर त उनीहरूको भावी सन्तानसम्म पुग्ने खतरा हुन्छ। अहिले नै ध्यान नदिने हो भने भविष्यमा ठूलो जनस्वास्थ्य संकट निम्तिन सक्छ।
क्यान्सरका बिरामीहरू बढ्दै गएका छन्। पहिले कम देखिने क्यान्सरका केसहरू अहिले दैनिकजसो देखिन थालेका छन्। विश्वव्यापी तथ्यांकअनुसार करिब ३० प्रतिशत क्यान्सर सुर्तीजन्य पदार्थका कारण हुने गर्छ। फोक्सो, मुख, पेट, मुत्रथैली लगायत अंगहरूमा यसको प्रत्यक्ष असर देखिएको छ। यिनै कारणले मुटु रोग, रक्तसञ्चारको समस्या र मस्तिष्कसम्बन्धी रोगहरू पनि बढ्दै गएका छन्।
धुम्रपानले सोच्ने क्षमतासमेत घटाउने भएकाले व्यक्तिको कार्यक्षमता, उत्पादकता र आर्थिक प्रभावसमेत राज्यमा प्रत्यक्ष असर पारिरहेको छ। यसले परिवार, समाज र राष्ट्रको समग्र स्वास्थ्य प्रणालीमा गम्भीर असर पार्ने देखिएको छ।
यस समस्यालाई समाधान गर्न हालका प्रयासहरू मात्र पर्याप्त छैनन्। अझ ठोस र दीर्घकालीन रणनीति आवश्यक छ। सुर्तीजन्य पदार्थलाई बिस्तारै पूर्णरूपमा फेजआउट (बिस्थापन) गर्ने लक्ष्यसहित १० वा २० वर्षे योजना आवश्यक छ। यसका लागि उत्पादन र विक्रीमा संलग्नलाई वैकल्पिक रोजगारीको व्यवस्था गर्न सक्ने नीति अवलम्बन गर्नुपर्छ।
धुम्रपानको हानिबारे निरन्तर जनचेतना फैलाउने काम अत्यन्त जरुरी छ। विकसित राष्ट्रहरूले सफलतापूर्वक जनचेतनाबाट प्रयोगकर्ताहरू घटाएका छन्। नेपालले पनि त्यस्तो प्रयासलाई सशक्त रूपमा अघि बढाउनुपर्नेछ।
अर्कोतर्फ, धुम्रपानले आफू मात्रै होइन, अन्य व्यक्तिलाई पनि असर पारिरहेको हुन्छ। एउटै कोठामा बसेर धुवाँ सर्ने प्रक्रियाबाट परिवारका अन्य सदस्य, विशेषगरी महिला र बालबालिका समेत प्रभावित हुने गरेका छन्।
यसरी हेर्दा, चुरोट तथा सुर्तीजन्य पदार्थ नियन्त्रण अब केवल स्वास्थ्य मन्त्रालयको मात्र होइन, सम्पूर्ण राष्ट्रको प्राथमिकता बन्नु आवश्यक छ। भोलिको पुस्तालाई बचाउन आजैदेखि कदम चाल्न ढिलो भइसकेको छ। सुर्तीजन्य पदार्थमुक्त समाज बनाउने उद्देश्यसहित ठोस योजना र कडाइका साथ लाग्ने समय अब आएको छ।

