काठमाडौं — नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले प्रधानमन्त्री केपी शर्मा ओलीको पछिल्लो अभिव्यक्तिलाई लोकतन्त्रको मूल्यमान्यता विरुद्धको संकेतमूलक भन्दै गम्भीर चिन्ता व्यक्त गरेका छन्।
मंगलबार विराटनगरमा आयोजित कार्यक्रमको दौरान उनले प्रधानमन्त्रीले ‘जेठ १५ मा काठमाडौं एमालेको नियन्त्रणमा हुनुपर्छ’ भनेको अभिव्यक्तिप्रति राजनीतिक वृत्तमा आवश्यक प्रतिक्रिया नआएकोमा असन्तुष्टि जनाए। उनले यस्तो अभिव्यक्तिलाई निरंकुश प्रवृत्तिको सुरुवाती संकेतको रूपमा व्याख्या गरे।
“मलाई लागेको थियो, कांग्रेसको शीर्ष नेतृत्व बैठकमा प्रधानमन्त्रीको उक्त अभिव्यक्तिमाथि छलफल हुनेछ,” उनले भने, “तर त्यसको सट्टा बैठकमा मेरो बारेमा बहस भयो। त्यसबाट मलाई पार्टीको वास्तविक अवस्था थाहा भयो।”