×

गृह मन्त्रालय विवादमा सिटौलाको टिप्पणी : ‘एक कर्मचारीको दोषमा मन्त्रीको राजीनामा माग्नु उचित होइन’

खालीपाना न्युजडेस्क | ९ महिना अगाडि

नेपाली कांग्रेसका वरिष्ठ नेता कृष्णप्रसाद सिटौलाले अध्यागमन विभागमा देखिएको पछिल्लो विवादमा गृहमन्त्रीको राजीनामा माग्नु समयपूर्व र अनुचित हुने टिप्पणी गरेका छन्।

विराटनगरमा आयोजित पत्रकार भेटघाटमा बोल्दै नेता सिटौलाले कुनै कर्मचारीको व्यक्तिगत कमजोरीका आधारमा मन्त्रीलाई जिम्मेवार ठहराउनु गलत अभ्यास भएको बताएका हुन्। “व्यक्तिगत गल्तीलाई लिएर मन्त्रीको पद नै धरापमा पार्ने हो भने गलत परिपाटी बस्छ,” सिटौलाले भने, “मन्त्रीमाथि आरोप लागेपछि नैतिकताका आधारमा राजीनामा दिनुपर्ने हुन्छ, तर यो अवस्थामा त्यस्तो केही देखिएको छैन।”

उनले हाल अध्यागमन विभागमा देखिएको घटनाको छानबिन प्रक्रिया अगाडि बढिसकेको बताउँदै निष्कर्ष ननिस्किँदै हतारमा निर्णय गर्नु अनुचित हुने धारणा राखे। सिटौलाको यो भनाइ कांग्रेस नेता डा. शेखर कोइरालाको भनाइको प्रतिक्रिया स्वरूप आएको हो। कोइरालाले शनिबार गृहमन्त्री रमेश लेखकलाई नैतिकताका आधारमा राजीनामा दिन सुझाएका थिए।

संविधान समयसापेक्ष परिमार्जन हुनुपर्छ : सिटौला

संविधान संशोधनको सन्दर्भमा नेता सिटौलाले हालको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक प्रणालीलाई नै मजबुत बनाउँदै लैजानुपर्नेमा जोड दिए। उनले राजसंस्थाको पुनर्स्थापनाका लागि जनमत सङ्ग्रहको आवश्यकता नरहेको स्पष्ट पारे।

“राजसंस्थाको युग समाप्त भइसकेको छ, अब फर्किने अवस्था छैन,” सिटौलाले बताए। प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको अवधारणालाई अस्वीकार गर्दै उनले वर्तमान संसदीय प्रणाली नै नेपालका लागि उपयुक्त रहेको धारणा व्यक्त गरे।

कांग्रेसको महाधिवेशन २०८३ मा हुने संकेत

कांग्रेसको १५औं महाधिवेशनको सन्दर्भमा सिटौलाले आगामी मंसिरभित्र महाधिवेशन सम्भव नदेखिएको बताए। उनले २०८३ सालको दशैंपछि महाधिवेशन गर्ने गरी तयारी गर्न उपयुक्त हुने सुझाव दिएका छन्।

Facebook Comments Box
0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x