शनिबार राति दमौली बजारको चहलपहल क्रमशः थामिंदै थियो । होटल तथा रेष्टुरेन्टहरू बन्द हुँदै गर्दा व्यास नगरपालिका–५ पाटनका तीन जना युवा – कुशल मगर, प्रवीन मगर र कुमार मगर – पनि दिनभरको काम सकेर साँझ बजार घुम्न निस्किएका थिए ।
उनीहरू काम गर्ने रेष्टुरेन्ट साँझमा नै बन्द भएको थियो, त्यसैले केही समयको लागि शहरको फन्को मारे । करिब रातको ११ बजेतिर उनीहरू घर फर्कने तयारीमा थिए । सोहीबेला रेष्टुरेन्टका एक परिचित ग्राहक रोहित गुट्टासँग उनीहरूको भेट भयो । रोहित बोलेरो गाडी चालक हुन् र त्यही बोलेरो लिएर बजार आएका थिए ।
परिचयको आधारमा रोहितले ‘चापाघाटसम्म पुर्याइदिन्छु’ भनेपछि ती तीनै जना गाडी चढे । गाडीमा रोहितसँगै उनका साथी धिरज रौनियार पनि सवार थिए ।
दमौली बजारदेखि मादी नदीको पुलको दूरी करिब एक किलोमिटर मात्र छ । पुल पार गर्नासाथ चापाघाट सुरु हुन्छ । बोलेरो गाडी (ग२च ५७६०) केही मिनेटमै मादी नदीको पुलमा पुग्यो । तर पुल नजिक पुग्दा गाडी अचानक रेलिङमा ठोक्कियो र त्यसपछि पुलबाट तल खस्दै नदीको बगरमा पुगेर अडियो ।
जिल्ला प्रहरी कार्यालय तनहुँका प्रवक्ता राजु अधिकारीका अनुसार गाडी पुलको रेलिङमा ठोक्किएपछि झण्डै ५० मिटर परसम्म बगेर तल खसेको हो । घटनास्थलमै कुशल, प्रवीन र कुमारको मृत्यु भयो ।
दुर्घटनामा गाडी चालक रोहित गुट्टा र उनका साथी धिरज रौनियार घाइते भए । दुवै जनालाई तुरुन्त उद्धार गरेर अस्पताल पुर्याइएको थियो । अस्पताल स्रोतका अनुसार धिरजको अवस्था गम्भीर रहेकाले उनलाई पोखरा रिफर गरिएको छ भने चालक रोहितको उपचार दमौलीमै भइरहेको छ ।
चालक रोहितले दिएकाे बयानअनुसार घटनाको बेलामा अर्को बस विपरीत दिशाबाट तीव्र गतिमा ओभरटेक गर्दै आइरहेको थियो । ‘डरले मैले गाडी बायाँ मोडेँ, तर गाडी पुलबाट खस्यो,’ रोहितले भने ।
उक्त दुर्घटनाले पुरानो घटनाको यादसमेत ताजागरेको छ । १२ वर्षअघि सोही पुलबाट एक बस खसेर ११ जनाको ज्यान गएको थियो ।
वि.सं. २०२८ मा निर्माण गरिएको यो पुलको रेलिङ आजसम्म पनि पुरानै अवस्थामा छ । संरचनात्मक दृष्टिले रेलिङ कमजोर र सजिलै भाँचिने प्रकारको छ । पुलको किनारमा रहेको पर्खाल पनि करिब एक बित्ता मात्र अग्लो छ, जुन ठूलो सवारी साधन रोक्न पर्याप्त छैन ।
दमौली वडा नम्बर ५ का वडाध्यक्ष विष्णुकुमार श्रेष्ठका अनुसार कमजोर संरचनाका कारण पुलमा पटक–पटक दुर्घटना भइरहेका छन् । तर, मुग्लिन–पोखरा सडकखण्ड विस्तार आयोजनाका सूचना अधिकारी विष्णु पाण्डे भने अधिकांश दुर्घटनामा चालकको लापरवाही र गाडीको तीव्र गतिलाई जिम्मेवार ठान्छन् ।
उनका अनुसार दुर्घटना न्युनिकरणको प्रमुख उपाय भनेकै ट्राफिक नियमको पालना र चालकको सतर्कता हो । ‘पुलमा रेलिङ बलियो बनाएर मात्रै दुर्घटना रोकिँदैन,’ उनी भन्छन्, ‘सावधानी र नियमको पालना नै मुख्य हो ।’