११ जेठ, काठमाडौं । अष्ट्रेलियाका अनुभवी फास्ट बलर जोश हेजलवूड निकट भविष्यमा आईपीएल २०२५ को प्लेअफअघिनै रोयल च्यालेन्जर्स बेंगलुरुको टोलीमा पुनः समावेश हुने संकेत देखिएको छ।
बेंगलुरु टोलीले लिग चरणको अन्तिम खेल मंगलबार खेल्ने तयारीमा रहेको छ। त्यसपछि प्लेअफको यात्रा अघि बढाउने क्रममा चोटबाट विश्राम लिइरहेका हेजलवूड मैदान फर्किन तयार छन्। टोलीले सामाजिक सञ्जालमार्फत पनि उनको पुनरागमनको संकेत दिएको छ।
यो सिजन उनले आरसीबीको लागि १० खेलमा १८ विकेट लिँदै उत्कृष्ट प्रभाव छाडेका थिए। यद्यपि अप्रिल २७ पछिदेखि उनी मैदान बाहिर थिए। त्यसबीचमा आईपीएल बीचमै रोकिँदा हेजलवूड अस्ट्रेलिया फर्किएका थिए।
स्वास्थ्य लाभको प्रक्रियामा उनी अष्ट्रेलियामै प्रशिक्षणमा फर्किएका थिए र वर्ल्ड टेस्ट च्याम्पियनसिपको तयारी स्वरूप ब्रिसबेनमा राष्ट्रिय टिमसँग अभ्यासमा जुटेका थिए। प्रशिक्षणको क्रममा उनी शारीरिक रूपमा पूर्ण फिट देखिएपछि बेंगलुरुमा पुनः खेल्न तयार भएको बुझिएको छ।
बेंगलुरुले पहिल्यै प्लेअफमा स्थान सुरक्षित गरिसकेको छ। तर, शुक्रबार सनराइजर्स हैदराबादसँगको हारले टोलीलाई शीर्ष दुईमा पुग्ने योजनामा केही असर परेको छ।
हाल शीर्ष दुईको दौडमा रहेका अन्य दुई टोली पनि पछिल्लो खेलमा पराजित भएकाले, प्लेअफको अन्तिम स्थिति स्पष्ट हुन लिग चरणको अन्तिम खेल पर्खनु पर्ने भएको छ।