गृहमन्त्री रमेश लेखकले आफू गृहमन्त्री बनेयता कुनै पनि गैरकानुनी काम नगरेको स्पष्ट पार्दै गल्ती प्रमाणित भए राजनीतिबाट नै बाहिरिने चेतावनी दिएका छन्।
शनिबार धनुषामा पार्टी कार्यकर्ताहरूसँग संवाद गर्दै उनले आफूविरुद्ध उठेका आरोपहरूबारे अनुसन्धान हुनुपर्ने बताए। ‘यहाँ उपस्थित साथीहरू चिन्ता लिनुपर्ने अवस्था छैन,’ मन्त्री लेखकले भने, ‘म गृहमन्त्रालय सम्हालेको दिनदेखि यदि कुनै गलत कार्यमा संलग्न भएको पुष्टि भयो भने, म राजनीतिमा कहिल्यै देखा पर्नेछैन।’
उनले केही दिनदेखि सामाजिक सञ्जालमा भइरहेको चर्चा र आलोचना सम्बन्धमा आफूले स्थिति बुझिरहेका कारण चुप लागेको बताएका छन्। ‘ट्वीटरमा जे–जस्ता कुरा लेखिएका छन्, म त्यसबारे दुई–तीन दिनदेखि चुप बसेँ। किन भने, यो सबै कहाँबाट कसरी भइरहेको छ भन्ने बुझिरहेको थिएँ। धेरै कुरा थाहा भइसकेको छ,’ उनले भने।
गृहमन्त्रीले छिट्टै आधिकारिक धारणा सार्वजनिक गर्ने तयारीमा रहेको जानकारी समेत दिए।
उनले आफ्नो राजनीतिक यात्रामा पार्टीका नेता तथा कार्यकर्तालाई लज्जित हुनुपर्ने काम कहिल्यै नगरेको पनि बताए। ‘उठेका कुरा निष्पक्ष रूपमा छानबिन हुनेछन्,’ उनले दोहोर्याए।
अहिले अध्यागमन कार्यालयका केही कर्मचारीमाथि सार्वजनिक गरिएको आरोपसँग सम्बन्धित छानबिनमा गृहमन्त्रालयले संलग्न कर्मचारीहरूलाई व्यापक रूपमा सरूवा गरिसकेको छ।
हालै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अध्यागमनमा हुने गैरकानुनी गतिविधिका विषयमा अनुसन्धान थालेपछि गृह मन्त्रालयले त्रिभुवन विमानस्थलस्थित अध्यागमन कार्यालयबाट १५ जनासम्म कर्मचारीलाई अन्यत्र सरूवा गरेको हो।
यीमध्ये नासुहरू प्रेमप्रसाद पौडेल, वीरभद्र जोशी र नरबहादुर थापालगायतलाई जिल्ला प्रशासन कार्यालयमा पठाइएको छ भने अन्य केहीलाई कारागार व्यवस्थापन विभागतर्फ सरूवा गरिएको छ।
यसअघि प्रमुख तीर्थराज भट्टराईको पनि जिम्मेवारी हटाइएको थियो। अध्यागमन कार्यालयमा रकम लिएर भिजिट भिसामा विदेश पठाउन सहज वातावरण बनाइदिएको आरोपसँगै गृह मन्त्रालयले तीव्र कदम चालेको हो।