शुक्रबार राति परेको अविरल वर्षाका कारण बर्दघाट–दाउन्ने सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ।
बुटवल–नारायणगढ सडक विस्तारको प्रभावमा परिरहेको यो खण्ड शुक्रबार रातिदेखि एकाएक ठप्प भएको हो।
सडक भत्किएपछि पूर्व–पश्चिम राजमार्गमै यातायात अवरुद्ध बनेको छ। पश्चिमबाट पूर्वतर्फ गइरहेका सवारीहरू बर्दघाटमै रोकिएका छन् भने पूर्वबाट पश्चिमतर्फ जाँदै गरेका सवारी साधन दुम्किबासमा अड्किएका छन्।
प्रहरीका अनुसार बर्दघाट नगरपालिका–४ स्थित खुर्सानी खोलानजिकैको भागमा सडकको डिल करिब ७ मिटर जति भासिएको छ। सडक विस्तारका क्रममा गरिएको कालोपत्रे पनि खोलिएको छ।
इलाका प्रहरी कार्यालय बर्दघाटका प्रमुख प्रहरी निरीक्षक दीपेन्द्र बानियाले वर्षासँगै शुक्रबार राति करिब ११ बजेदेखि उक्त सडक पूर्ण रूपमा बन्द भएको जानकारी दिएका छन्।